Thursday, July 28, 2016

चुच्चे रेल

              


      
   झिसमिसे अध्यारो मै क्याम्प जागेको छ l  धुलाम्य रुखमा चराचुरुंगी हरु को चिरबिर अनि मान्छे हरुको गाइगुइ ले क्याम्प कोलाहल छ l निला ड्यान्ग्री सेफ्टी जुत्ता अनि एउटा हातमा टिफिन र अर्को मा हेल्मेट बोकेका योद्धा हरु यो देश र आफ्नो भविष्य बनाउने युद्दमा जानका निम्ति तयार हुन्छन l  नेपालमा जस्तै टाटा बसको हर्न बज्छ l एकछिन लाई सबैमा बालापन छाउछ l हतारिदै सिट रोक्न दौडिन्छन  l धुलो उड्छ l नाक छोप्दै बसमा उक्लिन्छ श्यामसुन्दर l ढुक्क थियो सधैको जस्तो रामेले सिट रोकेको छ भनेर l आज रामे संग अरु कोहि बसिसकेको देखेर श्यामसुन्दर एकछिन अल्मलिन्छ l उसका आखाँले भरिएका सिट हरुमा खालि ठाउँ खोज्छ l इजिप्टसियन फोरमेन क्याप्टेन जस्तै रुखो कडा उस्ले आफुले बुझ्ने भाषामा उसको नाम साम राखिदिएको छ l त्यसैले सबै साथीहरु श्यामसुन्दर लाई साम भनेर नै चिन्ने गर्दछन l पछाडी सिट बाट बंगाली साथीले साम भनेर बोलाउदै खालि सिट तिर इसारा गर्छ l  साम बंगाली को छेउमा गएर बस्छ l
          बस अगाडि बढ्दै गर्दा सामले फेरेको सास बाहिर सुनिन थाल्छ l मोरो मस्त निदाएछ l निर्माणाधीन दोहा रेल स्टेसनको गेटमा ड्राइभरले मजाको ब्रेक लगाउछ l साम संगै धेरै जना झसंग बिउझिन्छ्न l गेट पास भएर ड्राइभरले ओर्लिने संकेत हर्न बजाउछ l मिर्मिरे उज्यालो ठुला ठुला मेसिनहरु को आवाज अनि ठुलो खण्डहर (बन्दै गरेको रेलको स्टेसन) l सबै जना ओर्लन्छन अनि टिफिन सितलो ठाउँ राख्छन l हातमा सबैले आफ्नो आफ्नो कामका औजार लिएर काममा होमिन्छन l सेतो हेल्मेट वालाले दिएको निर्देशन अनुसार l कामको सिलसिलामा सुस्ताउदा हसोमजाक गर्ने रामे आज मुखमा हेर्न पनि चाहेको छैन l सामले कुरा बुझिहाल्यो l केहि बर्ष देखि कतारको रेलले झापाली र स्याङ्गजाली बीच जोडिएको सम्बन्ध लाई ओलीको चुच्चो रेलले तोड्दै छ l
            काम गर्दा होस् या क्याम्प भित्र स्याङ्गजाली र झापाली बिचको गफ कहिले नसकिने l आज उनीहरु लाई राजनीतिले सिकिस्त बनायो l त्यसोत सामको दुर दुर सम्म उसको राजनीति संग कुनै सम्बन्ध थिएन l राति अबेर सम्म खानै खान छाडी फेसबुकमा झुन्डिन्थ्यो l बास्तबमै भन्नु पर्दा ओली कहिले प्रधानमन्त्री बने भन्ने सम्म उसलाई हेक्का थिएन l तर जब प्रम ओली ज्यु को पाइपलाइन वाला ग्यास, आफ्नै पानीजहाज, हावाको बिजुली अनि चुच्चे रेल का कुरा फेसबुकमा भाइरल भयो उ ओलीको फ्यान नै भयो l साम फेसबुके तरुनीहरु संग च्याट गर्न छोडेर हावा अनलाइनका हावा न्युजको कमेन्टमा लडाई गर्दै कति रात त्यसै बितायो l रामे भने स्कुल कलेज देखि नै राजनीति गरेर आएको मान्छे सामको यो हर्कत देखेर निकै चिन्तित थियो l           
          शुक्रबारको दिन थियो क्याम्प नजिकै को चिया पसलमा मान्छे हरु जम्मा थिए l साम कसैलाई थर्काउदै थियो l तिमिहरु भारतीय दलाल हौ नदीनाला बेच्यौ अब देश बेच भन्दै तथानाम गालि गरिरहेको थियो l रामे बिचमा नगएको भए सायद मुक्कामुक्की चल्ने थियो होला l साम दिन भरि कतारको रेल बनाउथ्यो फेसबुक र सपनामा नेपालको रेल l एकदिन रामे अबेर सम्म सुतेको थिएन l उ भविष्यका डोरीहरु कस्दै थियो l त्यतिकै मा साम बर्बराउन थाल्यो l आफ्नै पानि जहाजमा सामान कार्गो गरिन्छ l आफ्नै झन्डावाला प्लेनमा नेपाल झरिन्छ l अनि चुच्चे रेलमा घर गाइन्छ l रामे लाई हाँसो उठ्यो l साम सपनामा आज पहिलो पल्ट बर्बराएको भने होइन l सामको देशभक्ति भनौ या ओली भक्ति रामे दंग पर्यो l रामे आफु पनि हँसिया हतौडा वाला झन्डा बोकेर धेरै नाराजुलुस गरेको मान्छे l एउटा असल कार्यकर्ता भएको कारण चिन्ता थियो l सामले देखेको सपना चकनाचुर भयो भने यसले भविष्यमा नराम्रो असर पार्ने छ भन्ने उसलाई लागेको थियो l उ आफै पनि परिवारको बेवास्ता गर्दै नेताको भाषणका पछाडी लाग्यो l देशमा आमुल परिवर्तन हुने सपना देख्यो l पछि मात्र थाहा भयो सपना र वास्तविकता मा धेरै फरक थियो l जनआन्दोलन ६२/६३ को महान उपलब्धि पछि पनि देशमा राजनीति संकट पहिले भन्दा बढ्दै गरेको देखे पछि उसमा राजनीतिमा वितृष्णा छायो l अनि कतार तिर पलाएन भयो l  राजनीतिमा नै भविष्य खोजेको रामे कतार तिर पलाएन हुनुमा राजनीतिक धोखाधडी प्रमुख कारण थियो l रामे चाहन्थ्यो आफुलाई जस्तो राजनीतिक वितृष्णा अरुलाई नहोस भनेर l भोलि शुक्रबार साम लाई राम्रो संग सम्झाउने सोच बनाउदै रामे निदायो l
            छुट्टीको दिन दिउसो तातो हावा चलेको थियो l साझँ पख भने केहि सितलो हुदै थियो l क्याम्पका मान्छे हरु बाहिर निस्किदै थिए l रामे सामलाई जाउ चिया पिउन भनेर क्याम्पको चिया पसलमा लग्यो l आजकल साम संग बसे पछि राजनीतिक कुरा नहुने कुरै थिएन l परको फराकिलो चौडा सडक देखाउदै सामले भन्यो साथि तिम्रो पुर्व जाने रोड यस्तै फराकिलो हुने छ l यस्तै रफ्तारमा हामि हिड्ने छौ l रामे खिस्स हास्यो l रामे को हासो साम लाई मन परेन l सामले फेरि थप्यो l ओलीका कुरामा हास्ने धेरै छन् तर एकदिन थाहा पाउने छन ओली नै हुन्  देशमा आमुल परिवर्तन ल्याउने मान्छे भनेर l रामे फेरी हाँस्दै साम लाई सम्झाउदै भन्यो l साथी तिमि जस्तो विकास प्रेमी म पनि हो देशमा विकास नचाहने को छ ? हामि सपना बाट जागौ र यथार्थ मा जाउ l कतारका फराकिला चिल्ला रोड कुनै नेताले बोलेर बनेका होइनन l  हामिले काम गरेको कतारको रेल प्रोजेक्ट कुरा गरौ l रात दिन गरेर हजारौ जनशक्ति लगाएको छ l बन्द हड्तालका कुरा छोड साथी यहाँ कुनै पनि काम एग्रिमेन्टमा तोकिएको समयको एकदिन ढिला हुदैन l न आर्थिक कसरि जुटाउने भन्ने सवाल छ l न कुनै  किसिमको अबरोध l तर यतिका बर्ष बित्दा सम्म रेलको नमुना अझै देखिएको छैन l कतार रेल परियोजना अन्तर्गत को दोहा मेट्रो पहिलो चरणको काम २०१९/२० पुरा गरि सर्वसाधारणका लागि खोलिने अपेक्षा राखिएको छ भने दोस्रो चरण २०२६मा पुरा गर्ने लक्ष्य छ l साथि देश बनेको हेर्न कसलाई रहर छैन l देश बनाउने रहर कसलाई छैन l साथि यो माओवादी सहित अन्य साना दलहरु संग मिलेर बनाइएको गठबन्धनको सरकार हो  l कुन बेला अल्पमतमा पर्ने हो स्वयम्  केपी ज्यु लाई थाहा छैन l  भने उनका कुराहरु माथि विश्वास गर्ने आधार के ? त्यसो त यो सरकार विकासका कुरा गर्न लाई होइन l यो सरकारको महत्वको बिषय भनेको आम नेपालीलाई एकताबद्ध गरि संविधान कार्यान्वयन गर्नु पर्ने थियो l मधेसी, आदिवासी, जनजाती मुस्लिम र थारुहरुको जायज मागको सम्बोधन गर्दै मुलुक लाई अगाडी बढाउनु पर्ने थियो l  भूकम्प पछि पुन:निर्माण लगाएतको काम सम्पन्न गर्नु पर्ने थियो l  रामे आफ्नो कुरा सक्न पाएको थिएन l साम जंगियो तिमि भारतीय दलालहरुको जस्तो कुरा नगर l ओली को कुरामा दम छ l अहिले सम्म कुनै प्रधानमन्त्रीले नभनेका कुरा हरु उनले भनेका छन् भन्दै ओलीको गुनगान गाउन थाल्यो l सामलाई सम्झाउने सबैलाई भारतीय दलालको ट्याग लाग्थ्यो l आज रामे लाई पनि त्यहि ट्याग लाग्यो l सामलाई के थाहा रामे देशको  झन्डा बोकेर दसगजा पहरा दिने मान्छे हो भनेर l रामे निकै निराश थियो l अरु कुरा गर्नुको औचित्य रहेन l धमिरो ले पुरै काठ खाई सकेको रहेछ l रामे लामो सास फेर्छ l कहिले चियाको पैसा नतिर्ने साम आज आफैले पैसा तिरेर कडकिदै कोठा तिर लाग्यो l
             राति रामे बेडमा पल्टियो l देशका सवाल, ओलीका बोलि अनि साम जस्ता अनगिन्ती सामहरु को सपना सम्झीयो l मदन भण्डारीको “जनताको बहुदलीय जनवाद” र बीपी कोइरालाको “समाजबाद” जस्ता सिद्धान्तका अर्थ रहेन l कार्यक्रममा जादा मास हेरेर उनि हरु लाई हौसाउदै गरिएका कुरा हरुले पनि जनताको मन जित्न सकिने रहेछ खुसि पार्न सकिने रहेछ l विकासका कुरा सुन्न कति लालायित हामि नेपाली l सपना बढ्दैमा जयजयकार हुने कस्तो विडम्बना l यो नौलो सिद्धान्त अब देशमा थालनी भयो l रामे चिसो एसी वाला कोठामा पनि निथ्रुक्क भिज्छ l वि सं १९९९ को “भारत छोड” आन्दोलनमा भाग लिएर जेल गएका मनमोहन अधिकारी जेलमा नै भारतीय कम्युनिष्ट नेताहरुको प्रशिक्षणले उहाँ कम्युनिष्ट विचार संग आबद्ध भएका थिए l उनि नेपाली भूमिमा कम्युनिष्ट विचार र झन्डा ल्याउने पहिलो व्यक्ति हुन् l इतिहास लाई हामीले कसरि बिर्सिने l रामे कोल्टे फेरी रहन्छ l फेरी बीपीले नेपालीको कर्तव्यप्रति सजग गराउदै भन्नु भएको एउटा पंति सम्झिन्छ l यदि तपाई विदेशीबाट संचालित हुनुहुन्न, देशको भावनाले ओतप्रोत हुनुहुन्छ भने म दुइवटा कुरा भन्छु नेपालको माटोलाई छुनोस .. अनि हृदयलाई सोध्नुहोस जे जवाफ दिन्छ त्यहि गर्नुस, नाङ्गा पैताला र झुत्रे लुगा लगाएकालाई सोध्नुहोस, नेपाली नागरिक लाई सोध्नुस जे जवाफ पाउनु हुन्छ त्यहि गर्नुहोस् l त्यहि तपाईको कर्तव्य हो l त्यहि महान विचारक बीपीका समर्थक हरु रास्ट्रघाती कसरि भए l हचुवाको भरमा कसैको झन्डा बोकी हाल्ने परम्पराले देशमा राजनीतिक अस्थिरता ल्याएको हो भन्ने रामे लाई लाग्यो l रातको २ बज्न लागेको थियो भोलि विहानैको ड्युटी उठ्न नसकिने हो कि भनेर चिन्ताले सतायो l नास्तिक रामे ‘नेता होइन नीति प्रधान हुनु पर्छ’ भन्ने पुष्पलालको बिचारमा हिड्न क्षमता हामि सबै वामपन्थीहरु मा दिउन भन्ने प्रार्थना गर्दै सुटुक्क निदायो l
            केहि दिन भयो साम पुरानो साम बन्दै छ l l  आजकल उ  कहिँ कतै राजनीतिक जमघटमा देखिदैन l हिउदको खहरे जस्तै भएको छ l ओली सरकार अल्पमतमा परे संगै साम यस्तो परिवर्तन भएको l कहिले काही त प्रधानमन्त्री ले गठबन्धन जोगाउन सकेनन पनि भन्छ रे l प्रधानमन्त्री को राजिनामा अनि प्रधानमन्त्री ले राजीनामा दिदै गर्दाको सम्बोधनले निकै मर्माहित साम अहिले गुमनाम छ l एकोहोरो भएको छ l अब सामले नेपालको राजनीति राम्रो संग बुझेको छ l बादल हटे पछि को आकास जस्तै छर्लंग भएको छ l  त्यसो त रामे सामको सपना टुटेकोमा दुखित थियो l रामे खुसि हुनु पर्ने यहाँ व्यक्तिगत हारजित को सवाल थिएन l देशको सवाल थियो  l देश हारे सबैको हार भन्ने रामेले राम्रो संग बुझेको थियो l

-वाहिद अलि
२०१६-०७-२८
wahidsyangja@gmail.com

No comments: