Saturday, July 22, 2017

मैले देखेको कतार


                      कतार अरब प्रायद्वीप को उत्तर पूर्वी तटमा अवस्थित सानो प्रायद्वीप हो l अहिले को जुबारा नामक शहरको प्राचिन नाम ‘कतारा’ बाट कतार नामकरण भएको हो l  जुबारा र जिक्रित कतारको उद्गमस्थल हो  l जहाँ हजारौ बर्ष पहिले का मानव सभ्यताको अवशेसहरु भेटिन्छन l यो देश बिभिन्न कालखण्ड पार गर्दै सन् १९७१ मा स्वतन्त्र भयो  l पूर्ण राजतन्त्र रहेको यस देशमा सरिया कानुन अर्थात् इस्लामिक कानुन मुख्य कानुन रहेको छ  l प्राचीनकालमा कतार मोतिको उत्खनन र व्यापार बाट प्रसिद्ध थियो  l अहिले यो देश तेल तथा ग्यास को निर्यात गर्ने मुलुक भनेर चिनिने गर्दछ  l २०२२ को विश्व कप फुटबल को जिम्मेवारी पाएको यस देश ले खेल क्षेत्र बाट आफ्नो पहिचान बनाएको छ l

            आधुनिक कतारको निर्माणमा नेपालीहरु ठुलो योगदान रहेको छ l नेपाल बाट हुने उच्चस्तरीय भ्रमणका बेला यहाँका नरेसले पनि नेपालीहरु को खुलेर प्रसंसा गरेको पाइन्छ  l साथै यहाँका नागरिक पनि नेपाली इमान्दार सोझा अनि मिहेनेती भनेर प्रसंसा गर्न चुक्दैनन l फलत नेपाल र कतार बीच को श्रम सम्झौता कायम रही आएको छ  l यहि नै हामी दुई देश बीचको समधुर सम्बन्धको उदाहरण हो l आर्थिक सम्वृद्धि संगै धर्म र संस्कृति लाई उच्च सम्मानका साथ आत्मसात गर्ने कतार जस्तो देश विश्वमा बिरलै होलान l विश्व बैंक को तथ्यांक हेर्ने हो भने २०१६ मा प्रति व्यक्ति आयमा संसारको पहिलो स्थानमा कतार रहेको छ l तथापी यहाँका जनताहरु आफ्नो परम्परा लाई बिर्सेका छैनन् l
            कतार बसाई का क्रममा कतारका संस्कृति रहनसहन लाई नजिक बाट नियाल्ने अवसर मिल्यो l मजरा (फार्महाउस) मा काम गर्ने देखि लिएर यहाँ का प्रतिष्ठित ठाउँ हरुमा कार्यरत नेपाली आफन्त साथि भाईहरु को नियमित भेटघाट साथै कतारीहरु संग प्रतक्ष सरोकार राख्ने पेशा यसमा सहयोगी भयो l हामि नेपाली र कतारी बीच भौगोलिक दुरी जस्तै यहाँ को रितिरिवाज चालचलन र संस्कृति मा उतिकै भिन्नता रहेको मैले पाए l
          पहिलो पल्ट कतारको लागि उड्दै थिए l ५ घण्टाको दुरी पार गर्दा कतार कस्तो होला भन्ने मनमा हुटहुटी थियो l एअरपोर्ट देखि मेरो नयाँ घर सम्मको यात्रामा यहाँको व्यवस्थापन र सरसफाई ले पहिलो प्रभाव पार्यो l सेता अनि काला चिटिक्क शरीर सुहाउदो पोसाकमा सजिएका अनि मिठो बास्ना पर सम्म आउने यहाँ का कतारीहरु ले उतिकै प्रभाव पारे l सफा चिल्ला सडक गाडी अनि व्यवस्थित बगैचाहरु ले म मरुभूमि को देशमा छु भन्ने कुरा चटक्क बिर्साई दियो l
          नेपाल देखि आएको नयाँ मान्छे आफन्त हरु भेट्न आउने र भेट्न बोलाउने क्रम जारि थियो l यसै क्रममा सन्जोगले कतारीको घर भित्र पस्ने अवसर जुर्यो l ठुलो आलिसान बंगला शुन्दर गार्डेन खजुरका रुखहरु अनि पार्किंगमा चिल्ला गाडीहरु l एउटा आम नेपालीहरु ले देख्ने ठुला सपना उनि हरुको बिपना थियो l मुख्य बंगला जहाँ केटा मान्छेहरु पस्ने इजाजत थिएन l अर्को भवन मज्लिस अर्थात् पुरुष हरुको जमघट हुने ठाउँमा भने मलाई पस्ने अवसर मिल्यो  l भित्र जे देखे त्यो हाम्रो कल्पना भन्दा पनि निकै परको कुरा थियो l अत्याधुनिक जिम खाना सानो थिएटर जस्तो टिभी हल उच्च गतिको नेट देखि लिएर हरेक किसिमका तम्तयार भोजनहरु l चिया कफी अनि मनोरन्जनका सबै सुबिधा l लाग्थ्यो कुनै स्टार होटेल हो l आम कतारीको यस घरमा परम्परागत र आधुनिक दुवैको बेजोड नमुना देख्न पाउदा आनन्द महसुस भयो  l
            सडक रेस्टुरेन्ट पसल अफिस सबै बन्द थिए l म शुक्रबार दिउसो प्रार्थनाका निम्ति मस्जिद जादै गर्दा को दृश्य थियो l नेपाल बन्द जस्तो आभास भयो l महंगा कार महंगा बास्ना सहित कतारीहरु हतार गर्दै मस्जिद तर्फ आउदै थिए l उनीहरुको धर्म कर्म प्रतिको गहिरो रुची ले मोहित बनायो l काठमाण्डौ का हरेक गल्लि, चोकहरु मा मन्दिर भए जस्तै यहाँ केहि दुरीमा मस्जिद भेटे l तर यहाँ प्रार्थनाको बेला युवा वृद् आफ्ना काम धन्दा चटक्क छोडेर मस्जिद तर्फ जादै गरेको देख्न पाए l प्रार्थना गर्दा सामान्य काम गर्ने विदेशी देखि हरेक रंग वर्णका मान्छे हरु एकै साथ प्रार्थनामा भाग लिए l जुन समानता बलियो कसी थियो l केहि समयको बसाइ पछि रमदान (वर्त) को महिना सुरु भयो l यस एकमहिने रमदानको महिना भरि स्वदेशी विदेशी कसैले पनि सार्वजनिक ठाउँमा भोजन गरेको दृश्य देख्न पाएन l वर्तको समयमा रेस्टुरेन्ट होटेल हरु पूर्ण रुपमा बन्द थिए l धर्म माथिको उनि हरुको आस्था देखेर आधुनिकीकरण संगै धर्मकर्म मा आस्था कम हुन्छ भन्ने भनाइ गलत हो भन्ने लाग्यो l
          महंगा गाडी, घडी र मोबाइलका स्वखिन कतारीहरु को पोसाक संग सुरु देखि नै जिज्ञासा थियो l खुसिको माहोल होस् या दुखको अनि औपचारिक अनौपचारिक सबै जसो ठाउँमा उस्तै पोसाकमा देखिने l एकजना ग्राहक संग उक्त पोसाक बारे जिज्ञासा राखे l तिमि हरु वास्तबमा यो पोशाक लगाउनु कुनै बाध्यता त होइन l उ हासेर जवाफ दियो हामी यो लुगा लगाउदा गर्व महसुस गर्दछौ l यो हाम्रो रास्ट्रिय पोसाक संगै वातावरण मैत्री छ l धार्मिक रुप बाट पनि यो पहिरन उपयुक्त छ l कतार युनिभर्सिटीमा कार्यरत मेरो दाजु भन्नु हुन्छ ब्रान्डेड कारहरु मा आउने छात्रा छात्रहरु पनि तोप अनि अभया मा नै आउने गर्दछन l पुरुषहरु सिर देखि पुरै शरीर ढाक्ने सेतो कपडा तोप अनि महिला पनि त्यस्तै पुरै शरीर ढाक्ने कालो कपडा अभया l जुन पोसाकले सबैलाई समान देखाउने गर्दछ l कतारी हरुको पोसाक प्रति म निकै प्रभावित छु l त्यसो त विश्व ब्रान्डका आउटलेट स्टोरहरु यहाँ नभएका होइनन l
          एउटा कम्पाउण्ड भित्र तिन वटा एकै किसिमका घरहरु को फोटो देख्दा मलाई लाग्यो दाजु भाई को घर हुनु पर्छ l  तिन वटामा फरक फरक डिजाइनका ढोका स्टेरकेस डिजाइन गरेर केहि अप्सन रेडी पारे l सेल्समेनले सबैमा एकै किसिम को डिजाइन गराउ यो एउटा कतारिको दुई श्रीमतीको घर हो भन्यो l इस्लाम धर्म अनुसार यदि कुनै कारणवश आफु संग भएको श्रीमती को इजाजतमा सम्मान व्यवहार गर्न सक्ने हैसियत भएमा ४ ओटा सम्म बिहेको छुट छ l पढेको कुरा प्रतक्ष देख्दा आश्चर्यको सिमा रहेन l एकजना विवाहको इभेन्ट सम्बन्धि काम गर्ने दाजु बाट थप विवाहको रितिरिवाजका बारेमा बुझ्ने अवसर मिल्यो l यहाँ विवाहको लागि आफ्नो भाईखानदान पहिलो प्राथमिकता मा पर्ने रहेछन अर्थात् दाजु भाई का छोरा छोरि बिहे गर्न मिल्ने रहेछ l विहे पुर्व नै केटिका मागहरु केटाले पुरा गर्नु पर्ने जसले गर्दा यहाँ छोरि जन्मिदा पनि उतिकै खुसि व्यक्त गरिने रहेछ l महिलाहरु का निम्ति  होटलका हलहरु र पुरुषहरु का निम्ति खुल्ला ठाउँमा खेमा (टेन्ट) लगाएर पार्टी हुने रहेछ l म एकपटक केटाको बिहेको जमघटमा सरिक भएको थिए l एक जना नियमित ग्राहक साथीको बिहेमा l खेमामा मेरो जस्तो ड्रेस वालाको बाहुल्यता औलामा गन्न मिल्ने थियो l केटाहरु हातमा तलवार नचाईरहेका थिए l पुरानो भाका झिक्दै एउटा मात्र डफ अर्थात डम्फु को तालमा सबै एकै लहरमा नाच्दै थिए l उनीहरुको लागि यो पन्चे बाजामा नाचेको भन्दा कम स्वाद थिएन l उनीहरुको नाच हेर्न लाएक थियो l मलाई ठुला भाडा मा सिंगो बाख्रा अनि सिंगो उट सहितका व्यंजनको स्वाद ले उति साह्रो छोएन l
         यहाँ कतारमा बर्ष दिन बित्न लागेको थियो l कृतिम बगैचा कंक्रिटका जंगलहरु ले मन भरिएको थियो l नेपालको यादले सताउन थालेको थियो l शुक्रबारको दिन साथिहरु मिलेर मजरा अर्थात् खेतीवाली सहितको फार्महाउस घुम्न गयौ l शहर छोडेर हाइवेको लामो यात्रा l उराठिलो मरुभूमि केहि पर हरियाली जंगलहरु देखिदै थिए l केहीबेर मा हामी त्यहाँ पुग्यौ l कम्पाउण्डको गेट भित्र पस्ने बित्तिकै जंगलको बिचको बाटो हुदै पार्किंगमा गाडी रोक्यौ l ऊट भेडा बाख्रा मयुर अनि कुखुराहरु कुनै खोरमा त कुनै त्यसै छोडिएका l  जेनेटरको प्रयोग गरेर निकालिएको जमिन मुनिको पानिले सिंचित गरिएको खेति l पुरानो जनजीवन को झल्को दिने त्यहाँ को वातावारण ले मन लोभ्यायो l त्यहि बिचमा मजलिस थियो l हप्ता वा महिनामा बिदा मनाउनका निम्ति परिवार वा साथिहरु संग कतारी आउने गर्छन l उनि हरु यहाँ उत्पादन भएका तरकारी हरु नियमित लैजाने गर्छन l यहाँ कार्यरत माली संग को कुराकानी मा थाहा भयो l खजुरका रुख, भेडा, ऊटका कुरा हरु गर्व का साथ सुनाउने कतारीहरु आफ्नो सम्पन्नता देखाउन का निम्ति यस्ता मजराहरु बनाउने गरेको सुन्न पाए l वास्तबमा त्यहाँ पूर्ण गाउँले परिवेस थियो जसले मन लाई आनन्दित दिलायो l
              अन्त्यमा आधुनिकताको नाममा नेपालमा चर्को विदेशी प्रभाव परेको छ l आफ्ना धर्म संस्कृति चाडपर्व लाई भूलेर विदेशीको सिको गरि आफुलाई सम्पन्न देखाउन खोज्ने हामि नेपाली कतारीहरु बाट धेरै पाठ सिक्न सक्छौ l

- मोहम्मद वाहिद अलि

wahidsyangja@gmail.com
(कास्की आदर्श सेवा समाज दोहा कतारको पहिलो स्मारिका "आदर्श सन्देश" २०७४ बैशाख पहिलो अंक मा प्रकाशित)

No comments: