Thursday, February 11, 2016

मोबाइल

                परेडका लागि उभिएका सिपाही जस्तै अनुशासित भई साथीहरु लामबद्ध बसेका थिए l मेरो पालो आइसकेछ l एकाउन्टेन्टले एउटा लिफाफा दिएर साइन गर्न लगायो l केहि पर पुगेर लिफाफा भित्र चियाए l लिफाफा भित्र पहिलो महिनाको सेलरी थियो l पाँच सय का दुईवटा अनि सय का नोटहरु l मेरो जीवनको पहिलो कमाई मन मा गाठो पर्यो अनि बर्रर आशु झर्यो l यो आशु खुसीको थियो l हिजो जस्तो लाग्थ्यो गाउँमा बरालिएर हिडेको l वास्तबमै यस्ता तलबहरु धेरै पटक थापिसक्नु पर्ने हो l हातमा पैसा पर्ने बित्तिकै मेरो पहिलो सपना पुरा गर्ने सोच आयो l नयाँ मोबाइल किन्ने l महिना दिनलाई खर्च पुग्ने पैसा छुट्टयाएर बाकि पैसाले मोबाइल किन्ने निधो गरे l हाम्रो क्याम्प शहर देखि निकै टाढा थियो l कम्पनिको मान्छे संग एअरपोर्ट बाट सिधै क्याम्पमा आएको ले विदेश के हो देख्न पनि पाएको थिएन l नयाँ देश अनि नयाँ शहर l एक्लै जादा हराइने हो कि भन्ने डर l पल्लो बेडको साथि लाई भोलि शहर जाउँ भनेर सल्लाह गरे l बिहानै उठेर हामि स्टेसनमा बस कुरेर बस्यौ l चिल्ला फराकिला रोड l चिल्लै गाडीहरु l रफ्तार हेर्दा उड्दै छन कि गुड्दै ठम्याउन गाह्रो थियो l ५२ डिग्रीको गर्मि हुने मरुभूमिमा पनि मुटु छुने जाडो l साथि बाट थाहा पाए गर्मि त यहाँ केहि महिना मात्र हुन्छ रे l  केहीबेरको प्रतिक्षा पछि हामीलाई सिटि लैजाने बस अगाडी आएर रोकियो l यहाँ बसको यात्रा पहिलो पटक थियो l काठमाण्डौका ट्याम्पु अनि हाम्रो गाउँ तिर जाने ट्रयाक्समा त्यो बिधि मान्छे कोच्चिन्छन l यहाँ भने जहाज जत्रो बसमा म मेरो साथि अनि ड्राइभर l अन्य स्टेसन बाट अलि अलि गर्दै यात्रु हरु चढ्दै थिए l तर पनि बस खालि नै थियो l

          मरुभूमि माथि सिधा रेखा ताने जस्तो बाटोमा हाम्रो बसले रफ्तार लियो l मेरो ध्यान पर पर मरुभूमिमा उम्रेका झारहरु र स-साना झ्याम्म परेका रुखहरु अनि त्यसैमा चर्दै गरेका उँट भेडाहरु तिर थियो l नेपालका हरिया गौचरन र घासेमैदानहरु मा हुर्किएका गाईबस्तु र यस्तो मरुभूमिमा हुर्केका उँट भेडाहरु l जीवन जस्तो अवस्थामा पनि चल्ने रहेछ l बस भित्र निकै शान्त वातावरण थियो l सबैको मुहारमा एक किसिमको चमक थियो l लाग्थ्यो सबैको पकेट न्यानो छ l कोहि मोबाइलमा प्रियसी संग मस्किदै थिए l कोहि परिवार संग l कानमा एअरफोन बाट विरक्तका गितहरु दोहोरि रहेका थिए l यता आउनु पहिले मन लाई सम्हाल्न डाउनलोड गरेका गितहरु l १ घण्टाको निरन्तर यात्रा पछि हामी शहरमा पुग्यौ l बस स्टेसनमा रोकियो l स्टेसन बाट फेरी ट्याक्सी चढेर हामी यहाँको ठुलो मल तिर लाग्यौ l बाटोको दृश्यले मलाई आश्चर्य चकित बनायो l यहाँका फराकिला रोडहरु l संसारका महंगा गाडीहरु l गगनचुम्बी भवनहरु l ढपक्कै फुल फुलेका बगैचा अनि हरियाली l निकै सफा, शान्त अनि व्यवस्थित l बल्ल विदेश मा छु भन्ने आभास भयो l ट्याक्सी मलको अगाडी रोकियो l मल निकै भब्य र सानदार अनि यहाँ आउने ग्राहकहरु पनि त्यस्तै l मल भित्र पस्यौ l भित्र अर्को संसार हो जस्तो लाग्यो l साथीले मोबाइलको स्टल भएको ठाउँ तिर लग्यो l त्यहाँ एकजना गाउँले दाजुले यतै विदेशबाट जादा सान संग बोकेको मोबाइल देखे l सेल्समेन लाई औलाले देखाउदै त्यो मोबाइल हेरौंन भने l उसले मलाई तल देखि माथि सम्म हेर्यो l फ्रेन्ड यो मोबाइल महँगो छ भन्यो l म दंग परे l उसलेले भन्दै थियो  स्क्रिन फुटे फेर्न महँगो पर्छ रे l अरु कुनै मोबाइल आखाँमा परेनन् l कुनै म संग नसुहाउने कुनै संग म नसुहाउने l त्यसो त मलाई त्यहाँ अरु बेर रोकिन थिएनl साथीले मल घुम्ने भन्दै थियो तर मलाई घुम्नु थिएन l निकै हीनताबोध भयो l हामि त्यहाँ बाट बाहिरियौ l बाहिरिदै गर्दा अलि पर सिसामा आफुलाई नियाले l मलाई पनि लाग्यो आजको मेरो हुलियामा त्यो मोबाइल आट्नु मेरो गल्ति थियो l
          त्यो दिन हाम्रो शहर घुम्ने काम मात्र भयो l साँझ पर्न आटेको थियो l फेरी बस चढेर क्याम्पमा फर्कियौ l कोठामा पुग्ने बित्तिकै ट्रिङ्ग ट्रिङ्ग घन्टी बज्यो l म संगै नेपाल बाट जहाज चढेर आएको मोबाइल l मेरो पुरानो ब्ल्याक एंड हवाईट नोकिया र १५ सय रुपियाँ थपेर काका पर्ने संग फेसबुक चलाउन किनेको मोबाइल l यता आए देखि बिमारी थियो l स्क्रिन टच नै नहुने l बल्ल बल्ल कल रिसिभ भयो तर आवाज नै सुनिएन l ठ्याकठुक हानेर सुन्ने बनाए l मल्लाघरे रामे रहेछ l मेरो दौतरी l खै कताबाट नम्बर पाएछ l केहीबेर भलाकुसारी भयो l
         खाना खाएर राति बेडमा के पल्टेको थिए शोरुममा देखेको मोबाइल म संगै आएको रहेछ यादमा l फेरी शोरुमको स्टाफले म संग गरेको व्यवहार सम्झिए l म कति सस्तो रहेछु l मलाई कुनै पनि हालतमा त्यो मोबाइल किन्नु थियो l त्यहि पसलमा l महिना दिन सम्म एउटी सुन्दर युवतीको यादमा डुबेको पागलप्रेमी जस्तो l एकोहोरो त्यहि मोबाइलको कल्पनामा डुवी रहे l त्यसो त शोरुमको स्टाफले म संग गरेको व्यवहार काँडा जस्तै मन भित्र बिझेको थियो  l यो महिना बित्न निकै समय लागो l संजोग नै भनौ यो सेलरी थाप्ने दिनको भोलि पल्ट फ्राइडे थियो l रामेले पनि यो फ्राइडे भेटघाट गर्ने अनि शहर घुम्ने भन्दै थियो l
          आज सेलरी बुझ्ने दिन l लामबद्ध बसेका मध्य धेरै जसो संग चिनजान भइसकेको थियो l साथिहरु  लिफाफा हातमा लिएर फिस्स हास्थे बाटो लाग्थे l मेरो पनि हातमा लिफाफा पर्यो l मन फुरुंग थियो l आज सबैको हातमा सेलरी अनि बिहिबारको रात l क्याम्पमा निकै होहल्ला थियो l सबै साथीहरु हल्ला अनि गफ सुन्दा यो देशनै किन्ने छलफल गर्दै छन् जस्तो भान हुन्थ्यो l वास्तबमा यहाँ एउटा उत्सव जस्तै माहोल थियो l ति उत्सव मनाउनेहरु लाई के थाहा मेरो मन भित्रको उत्सव l रामे स्टेसन मै आउछु भनेको थियो l त्यसैले म एक्लै शहर जाने सोच बनाएर छिटै सुत्न पल्टिए l आज को निद्रा त्यति सजिलो थिएन जुन पल्टिने बित्तिकै आउने l निकै कोसिस पछि कतिबेला निदाएछु l
           बिहानै उठेर बाथरुम पसे l धारबाट आइस नै झरेछ कि जस्तो लाग्यो l छिटो छिटो नुहाएर बाहिर निस्किए l आज रेडी हुन केहि धेरै नै मिहिनेत गर्दै थिएl महँगो देखिनु थियो मलाई l यता उड्ने अघिल्लो दिन काठमाण्डौमा किनेका लुगा जुत्ता लगाएर चिटिक्क भए l साथीको परफ्युम अलि धेरै नै छर्कीएछु कि साथि निद्रामै च्छिउ काड्दै थियो l चिटिक्क परेर ऐनामा हेरे आज ऐना पनि दंग छ जस्तो लाग्थ्यो l नयाँ मोबाइल बाट विदेशका फोटोहरु पहिलो पल्ट फेसबुकमा हाल्ने अर्को सपना पनि आज पुरा हुदै थियो l
             स्टेसन कुर्ने म एक्लो यात्री बिहानै भएर पनि होला l चिसो मौसम उही रफ्तारमा हिड्ने गाडीहरु अनि मरुभूमिको यात्रा l त्यस्तै एक घण्टाको यात्रा पछि शहरको स्टेसनमा बस रोकियो l रामे मलाई त्यहि कुरेर बसेको रहेछ l अलि पर देखि हात हल्लायो l  त्यहि लुरे ख्याउटे रामे अहिले गोरो मोटे रामे l हामि अंगालो हाल्यौ l बर्षौ पछिको भेट थियो l हामि केहि बेर चिया पिउदै गफ्फियौ l त्यसपछि रामेले ल अब जाउ शहर हेर्न भन्यो l रामे कम्पनीको पिकअप लिएर आएको रहेछ l रामेले नेपाली गित घन्काउदै गाउँ तिरका तरुनि अनि हाँसो ठट्टाका कुरा गर्दै शहरका निकै राम्रा राम्रा ठाउँ हरु घुमायो l मैले रामेलाई एउटा मोबाइल किन्नु छ भने l उसले त्यहि पहिले म आएको मलमा लग्यो l
          मल भित्र छिर्नेबित्तिकै घरबाट मिसकल आयो l कल गरे l घरमा सबै संग पालैपालो कुरा गरे l दुखसुख का कुराहरु आदानप्रदान भए l अन्तिममा बाउले काहिला साहुले छोराको यूरोप तिर बाट भिषा आएकाले तुरुन्त ऋण चुक्ता गर्नु भनेर ताकेता गरेको कुरा सुनाउनु भयो l म मोबाइल किन्ने सपना देख्दै गर्दा आफु आउदाको ऋण भुलेको रहेछु l बाउ लाई म अहिलेनै पैसा पठाइदिन्छु भने l रामेले हाम्रो कुरा सुन्यो सुनेन l तर मैले दुखै लुकाए जस्तो सोच्छ भनेर रामेलाई सबै कुरा सुनाए l रामेले काम चलाउन पैसा दिन्छु भन्यो l तर मैले त्यस्तो गरिन l रामे संग पैसा पठाउने ठाउँ कहाँ छ भनेर सोधे l काउन्टर यहि मल भित्र छ भन्यो l हामि पैसा पठाउने काउन्टर तिर जादै गर्दा अस्तिको शोरुम अनि त्यहि स्टाफ लाई देखे l रामेले मलाई जबर्जस्ति त्यहि शोरुम भित्र लाग्यो l रामले कुन मोबाइल हो तैले मन पराएको भन्यो l मैले उसलाई मोबाइल देखाए l आज त्यहि स्टाफले हामीलाई गर्ने ब्यबहार देखेर दङ्ग परे l उसले निकै कोसिस गर्दै थियो आफ्नो मोबाइल बेच्न l आज म त्यो मोबाइल लिने लाएक देखिएको रहेछु l अस्ति बिझेको काँडा झरे जस्तो भयो l 
           बाउलाई फेरी कल गरेर पैसा पठाएको नम्बर दिए l बाउ निकै खुसि हुनु भयो l मैले मोबाइल किने भन्दा धेरै खुसि महसुस भयो l रामेले नेपाली रेस्टुरेन्टमा लगेर म:म: खुवायो l घर फर्किनु ढिला भैसकेको थियो l त्यसैले रामेले मलाई स्टेसनमा लगेर छोड्यो l बसमा अलि धेरै यात्रु हरु थिए l बिहान सिटि आउदा जस्तो चमक कसैको मुहारमा थिएन l साँझ पर्दै थियो l मरुभूमिमा ति उँटका गोठालाहरु उँटलाई बाटो देखाउदै थिए l पर पर सम्म घरहरु देखिदैनथ्यो l
- बर्ष पछी
           रामे र म अहिले नजिकै छौ l बोसले मेरो काम मनपराएर शहरमा रहेको अफिसमा काम दिएको छ l अस्ति मात्र अहिलेको नाम चलेको ब्रान्डको मोबाइल आफ्नो लागि लिए l घरमा दुई वटा मोबाइल पठाई सकेको छु l बाउ अनि बहिनिका लागि l काहिला साहु अस्ति घरमा आएर दुखेसो गर्दै थिए रे l बाउबाजे देखि जोगाएको सम्पति छोरालाई यूरोप पठाउदा सकियो l छोराले उता पुगेर पढ्दैमा ठिक्क छ भन्छ रे l बुढी बिमारी अनि घर खर्च पनि चल्न गाह्रो भयो भन्दै थिए रे l बाउले काहिला साहुलाई केहि पैसा सहयोग पनि गरे भन्दै हुनुहुन्थ्यो l
        १ बर्ष निकै मिहिनेत गरेर मैले आफु अनि आफ्नो परिवारका धेरै आवश्यकता पुरा गर्न सक्ने भए l धेरै बाध्यताहरु थिए जसले न म राम्रो संग पढ्न सके न कुनै सिप सिक्ने मौका पाए l बाजेले छोडेको अनि बाउले जोडेको सम्पति बेचेर पनि म कुनै राम्रो देश जान सक्ने अवस्था थिएन l मैले आफ्नो योग्यता भन्दा धेरै राम्रो जागिर पाएको छु l १ बर्ष फेरी मिहिनेत गरेर बैनीको राम्रो बिहे गर्ने सोच बनाएको छु l अनि अर्को कुरा बैनीको बिहेमा घर जादा फेरी अर्को लेटेस्ट मोबाइल किन्ने सोच बनाएको छु l         
                 


-वाहिद अलि
२०१६-०२-११ 

               

No comments: