Thursday, March 19, 2015

नेपालीहरु को लागि कतार स्वर्ग हो यदि आफु दक्ष छौ भने

         
        मानव सभ्यताको अध्ययन गर्दा आफ्नो अनुकूलता अनुसार बसाई सर्ने चेतनशिल प्राणी हो l  गाउँबाट बजार, बजारबाट शहर अहिले त शहरबाट विदेश बसाइसराइ गर्नेहरु धेरै नै रहेको पाइन्छ l नेपालबाट यूरोप अमेरिका जापान जस्ता देशहरु मा शिक्षा रोजगारी व्यापारका निम्ति जाने मध्य अधिकांस उतै पलायन हुने गर्दछन l नेपालबाट रोजगारीका लागि जाने देशहरु मध्य कतार पनि एउटा देश हो l सरकारी तथ्यांक अनुसार चार लाख नेपाली कतारमा रहेका छन् l कतारमा बिदेशीलाई नागरिकता दिने प्रावधान नभएकाले यहाँ नितान्त रोजगारको निम्ति आउने गर्दछन l केहि समययता रोजगारी संगै व्यापारको निम्ति पनि आउने गरेको सुनिन्छ  l आफ्नो हैसियत अनुसार जस्तो सुकै काम सजिलै प्राप्त गर्न सकिने कतारको बिशेषता हो l

          नेपालमा कतारका बारे पहिले देखिने गलत प्रचार भएको भएता पनि यहाँ आउने कामदारको कमि कहिले भएन l केहि समययता अन्तरास्ट्रिय मिडियाको लहलहैमा आएर नेपाली मिडियाले अरु धेरै नकारात्मक संदेश फैलाउने काम गरे l जसले गर्दा कतारलाई कर्म थलो बनाउने धेरैको मनोवल गिराउने काम भएको छ l कतार बसाईका क्रममा कतार अनि नेपाली समाजको बारेमा धेरै कुरा बुझ्ने अवसर पाए l लामो समय पछि अन्तत म आफै मजदुरहरु को नजिक भएर उनिहरु संग साक्षत्कार गर्ने अवसर पाए l
        मेरो अफिसको बाहिर पट्टिको सडक चौडा पार्ने काम सुरु भएको रहेछ l बिहान ८ बजे अफिस पस्दै गर्दा रोड भरि इन्जिनियर अनि मजदुरहरु काममा खटिएको देखे l दक्षिण एसियाली मजदुरहरु को बाहुल्य रहेको यस फिल्डमा अन्य गोरा काला साथै अरबी भाषीहरु पनि आफ्नो दक्षता अनुसार काम गरिरहेको पाए l आधुनिक कतार बनाउन नेपालीहरु को ठुलो योगदान छ भन्ने भनाईको चरितार्थ मेरो आखाँ अगाडी थियो l ठुला ट्रक डोजर रोलर चलाउने नेपाली भाषा बोलेको सुन्दा गर्व लाग्यो l सामान्य काम गर्ने नेपाली देख्दा केहि दुखित भए l सेतो हेल्मेट लगाउने पहेलो लाइटवाला गाडीमा हिड्ने नेपाली दाजु भाईलाई निकै खोजे पाउन सकिन l
        कतारको चिसोले कता कता मनाङ्ग मुस्तांगको चिसो लाई च्यालेन्ज गरे जस्तो लाग्थ्यो l पुरै मुख टिसर्ट अनि रुमालले छोपेर पहेलो हेल्मेट अनि निलो ड्यान्ग्रीमा सुरक्षित रुपमा काम गर्दै गर्दा को दृश्य मन छुने थियो l यसरि नै हामी नेपाल बनाउन पाउने कहिले होला भन्ने राष्ट्रवादी भावना जागेर आयो l दक्ष र अदक्ष कामदारमा तलब सुबिधाको भिन्नता होला तर काममा खटिने सबै लाई चिसोले छोएको नै थियो l यहाँ को गतिबिधि हेर्दै गर्दा गत बर्ष नेपाल बसाईका क्रममा यस्तै मेल खाने दृश्य आखाँ अगाडी आयो l मेरो घर संगै अर्को घर बनाउन सुरु भएको थियो l चार जना लक्का जवानहरु डाँडो सम्याउने ठेक्का लिए l बिहान ८ बजे बेल्चा गैटि साबेल जस्ता औजार बोकेर डाँडाको माथिबाट माटो काट्न सुरु गरेका उनिहरु सुरक्षाका नाममा न हेल्मेट थियो न ड्यान्ग्री न कुनै आधुनिक औजार २० दिनमा सिंगो डाडा समथर भयो l मिस्त्रीहरुको हाहाकार थियो l लामो भाखा दिएका २०/२२ बर्ष पहिले देखि स्याङ्गजा बजारका घरहरु बनाउदै आएका परिचित श्याम दाईले दैनिक ज्यालामा घर बनाउने जिम्मा लिए l उनको साथमा केहि महिला अनि पुरुष मजदुरहरु थिए l एउटा झोलामा साधारण औजारहरु घन, हतौडा, ज्याबेल, आरी, लेवल पाइप, मिटर आदि लिएर काममा पसेका श्याम दाई एक्लैका निम्ति ४/५ जना लेबरहरु खटिएका हुन्थे l त्यहाँ चाहिने फोडूवा गिट्टी बगरबाट साइली दिदि सहितका जत्था कोहि स्कुल पढ्ने उमेरका त कोहि कोखामा बच्चा च्याप्दै ढुवानी गरेका हुन्थे l बिहान गाई वस्तुको लागि केहि डोका घाँस काटेर ८ बजे खाना खाएर बजार झर्ने श्याम दाई बजार झर्न नै १ घण्टा समय लाग्ने रहेछ l कामको सिलसिलामा कति पटक चोटपटक लागेर महिना दिन सम्म काम गर्न नसकेको l कामकै सिलसिलामा कैयौ पटक नजिकबाट काल अर्थात् मृत्यु लाई  देखेको किस्साहरु प्राय उनलाई भेट्ने जतिलाई सुनाउथे l

        यता तिर पेप्सी कोक त तताएर पनि खान्छन रे ...उनको पेप्सी तातो थियो कि चिसो त्यो थाहा भएन तर दिउसोको १ बजे पनि चिसो सिरेटो हावा चल्दै थियो l बीरबहादुर दाई संग सुरुमा देखादेख मात्र हुने गर्थ्यो l आज राम्रो संगै परिचय गरु भनेर उनको नजिक पुगे l सामान्य परिचय संगै सुरु भयो हाम्रो गफ l ६ बर्ष पहिले ६ सय सुख्खामा आएका उनि अहिले १२ सय सम्म ओभर टाइम गरेर बुझ्ने रहेछन l केहि बर्ष देखि परिवार बजार झारेका छन् रे l आफु पढ्न नसके पनि छोरा छोरि बोर्डिंग पढाएको छु भनेर गर्व गर्दै थिए l केहि लाखको जग्गा बजारमा जोड्न भ्याएका रहेछन l बिहानै झिसमिसेमा आफु संगै राति टिफिनमा राखेको खाना लिएर बस चढेका उनि क्याम्पमा फर्किदा साझँ झिसमिसे अध्यारो हुन्छ रे l दुख सुखको साथि यहि मोबाइल भएको छ l हात भरिको सामसुंग मोबाइल देखाउदै फिस्स हासे l २ बर्षमा घर ६० दिनको छुट्टि बस्न जादा गोजी भरि पैसा अनि मोटोघाटो शरीर l उतै भएका साथि भाईहरु ले भन्दा केहि राम्रो नै गरेको छु जस्तो लाग्छ रे l जसले गर्दा दुइबर्ष कटाउने प्रेरणा मिल्छ l यो शब्द निकै सान्दर्भिक लाग्यो l केहि समयको गफ पछि उनि संग बिदा भए l प्राय यताका गफ यस्तै हुन्छन l नयाँ मान्छे संगको परिचय संगै तलब काम अनि प्रगतिका गफ हान्ने l भोलि पल्ट बिहान म अफिस आउदै थिए तिनै बीरबहादुर दाईको साथिहरु मध्य एकजना फोनमा चर्को आवाजमा बोल्दै थिए l मेरो ध्यान त्यतै गयो l जति मिहिनेत गर्नु छ मैले नै गरेको छु l तिमिहरु ले केहि दुख गर्नु पर्दैन l बाबु आमाको हेरचाह गर l छोरा छोरिलाई राम्रो संग पढाउनु l बजार तिर दाई संग सम्पर्क गर्दै गर l सस्तो राम्रो जग्गा पाए म पैसा पठाउछु l यताको चिन्ता नलिउ आदि आदि l त्यसपछि के भन्दै थिए सुन्न त पाएन तर मैले धेरै प्रश्नहरु जवाफ पाए l

          माथि भेटिएका पात्रहरु मेरो जीवनमा भेटेका र यो लेखसंग मेलखाने पात्रहरु हुन् l हाम्रो देशमै मजदुरीबाट सुरु गरेर बिल्डर्स ठेकदार बनेका केहि उदाहरण नभएका होइनन l घर खेत बेचेर विदेश आएर रित्तो हात घर फर्केका l अंगभंग भएका साथै कामको सिलसिलामा ज्यान नै गुमाउनेहरु पनि छन l तातो घाम त कहिले चिसो हावा खादै मरुभूमिमा हातका नग्रा खियाउन सजिलो हुदै होइन l ठुला ठुला टावर हरुमा जोखिम मिल्दै काम गर्नु देखि भेडीगोठ अनि ऊँट चराउने सम्म जसका पिढा व्यथा आफ्नो ठाउँ मा छन् l
         निम्न स्तरका जोखिमयुक्त काम गर्ने कामदार हामि नेपाली मात्र किन? यो सान्दर्भिक प्रश्न हो l जब कि कतारमा बिश्वका धेरै देशका मानिसहरु रोजगारिका सिलसिलामा छन् l नेपाल सरकारले धेरै देशहरु मा महिला हाउसमेडको भिषा बन्द गरेको छ त्यसो भन्दै गर्दा के कतारमा हाउसमेड नै छैनन् त ? त्यस्तै नेपाली मजदुर विदेश नपठाए समस्या हल हुन्छ भन्नु उचित नहोला l हामि अरु लाई औला उठाउदै गर्दा आफ्ना कमजोरी लाई नजरअन्दाज गर्नु हुदैन l आफु अदक्ष भैकन पनि कतारमा रुखमा पैसा फलेको छ भनि टिप्ने सपना बुनेर आउनु पहिलो गल्ति हो l चर्को ब्याज लिने साहु, दलाल, मेनपावर र नेपाल सरकार आदि सबै मजदुरका समस्याका कारण हुन् भन्ने हामीले बिर्सनु हुदैन l रोजगारी दिएन हाम्रो देशले l रोजगारीका लागि विदेश जान छुट दियो हाम्रो सरकारले l लाखौ रुपिया लिए हाम्रै दलाल अनि मेनपावरले l अदक्ष भएर दुख पायौ आफ्नै कारणले l दुखमा परेकोहरु लाई अधिकार दिन सकेन नेपाली राजदूतावासले  भने हामि आफ्नो कमि कमजोरी सुधार्ने कहिले ?  
                      
         बिश्व कपका सन्दर्भमा कतारमा रहेका नेपाली कामदार लाई वलीको बक्रा बनाउने कोसिस गरियो l त्यो बेला हाम्रा दुखलाई अन्तर्राष्ट्रिय चासोको रुपमा लिईयो भने भने अहिले त्यो चासो किन सेलायो l बीबीसी साझा सवालको केहि एपिसोड नेपालमा हिट भए त्यहि हिट कार्यक्रमका संचालक विदेश पलाएन भए l


          अन्त्यमा.. नेपालीहरु को लागि कतार स्वर्ग हो यदि आफु दक्ष छौ भने l अदक्ष छौ भने जीविकोपार्जन गर्न सहयोगी छ कतार l शिक्षित अनि दक्ष त आफ्नै देशमा बेरोजगार छौ भने चारलाख नेपालीलाई रोजगारी दिने देश संग के गुनासोl

No comments: