Saturday, October 5, 2013

कतारमा काम गरिरहेका नेपाली भन्छन्- बनावटी कुरा गरेर धेरै पैसा असुल्ने दलालहरु नै पहिलो समस्या

-वाहिद अलि-
By mysansar, on October 4th, 2013

विगत केही बर्ष देखि म कतारको प्रतिष्ठित कम्पनीमा डिजाइनर पेशामा कार्यरत छु। डिजाइन सम्बन्धि मलाई कुनै ज्ञान थिएन तथापि म अहिले आफ्नो काममा दक्ष छु। जुन देशले मलाई एउटा दक्षता दियो, रोजगार दियो त्यही देशबारे म केही आफ्ना कुरा राख्न चाहन्छु।
बनावटी कुराहरु गरेर झुटा एग्रिमेन्ट देखाएर धेरै पैसा असुल्ने दलालहरु नै हाम्रो पहिलो समस्या हो। हामी चाहिने भन्दा धेरै लगनसिल, इमान्दार र सोझोपन देखाउने गर्छौ जसको फाइदा अरुले उठाउने गर्छन्।

नेपालीहरु कामदारका रुपमा कतार कहिलेदेखि भित्रिएका हुन् यो यकिनका साथ भन्न सकिन्न। तर जब १९७७ नेपाल कतारको कुटनीतिक सम्बन्ध गाँसिएको थियो, त्यसपछि नै हामी नेपालीहरु यहाँ कामदारका रुपमा भित्रिएका हौँ भन्ने अनुमान लगाउन सकिन्छ। कतार केही वर्षदेखि विकासमा तीब्र रुपमा अघि बढ्दै गरेको देश हो। २००६ मा पहिलो पटक एसियन गेम भव्य र सफलताका साथ आयोजना गरेको देश कतारले आफ्ना हरेक कुराहरु लाई सुधार गर्ने क्रममा रहेको छ। विगत र अहिले अनि भावी योजनाहरुलाई हेर्ने हो भने यो किसिमको विकासमा फड्को मार्ने देशहरु संसारमा विरलै भेटिन्छन्। यस देशको विकाससँगै नेपालीहरुको सम्बन्ध झन् झन् गाँसिएको छ। त्यसैले अहिले नेपालीहरु ५ लाखको हाराहारीमा बिभिन्न तहमा काम गरिरहेका भेटिन्छन्।

बेलायतको गार्डियन पत्रिकाले अहिले नेपाली श्रमिकहरुको दुःख पीडाहरुलाई संसार माझ प्रस्तुत गर्दैगर्दा हामी नेपाली कस्ता कामदारहरु रोजगारका निम्ति कतार आउँछौ, त्यो कुरा बुझ्नु एकदम जरुरी छ। म हामीभित्र रहेका कमजोरीहरुलाई आफूले देखेको भोगेको आधारमा राख्न चाहन्छु-

१. मेनपावर र दलाल- बनावटी कुराहरु गरेर झुटा एग्रिमेन्ट देखाएर धेरै पैसा असुल्ने दलालहरु नै हाम्रो पहिलो समस्या हो।

२. नेपाल सरकार र श्रम मन्त्रालय- आफ्ना बेरोजगार जनताका लागि एकदम तल्लो स्तरमा श्रम सम्झौता गर्ने नेपाल सरकार र श्रम मन्त्रालय, जसले कुनै अध्ययन अनुसन्धान बिना धमाधम मेनपावर कम्पनी खोल्न दिने र कुनै पनि देशसँग श्रमिकका निम्ति उचित सम्झौता या दवाब नदिने।

३. कमजोर कुटनीतिक नियोग- कतार सरकारले कुनै पनि कामदारले एग्रिमेंटमा लेखिएको सुबिधा तलब नपाएको अवस्थामा उसको हकहित दिलाइदिनका निम्ति लेबरकोर्ट खोलिदिएको छ तर समस्या पत्र हाम्रो नियोगबाट त्यहाँसम्म पुग्न सक्दैन र कामदार एक्लैले भाषिक समस्याका कारण आफ्नो कुराहरु लेबरकोर्टमा राख्न सक्दैनन्। फलतः उनीहरु समस्यामा पर्छन्।

४. भाषिक समस्या- हामी कमसेकम आफ्नो परिचय अरबिक भाषामा दिन नसक्ने अवस्थामा यहाँ आएका हुन्छौ त्यसो त इंगलिसमा पनि जवाफ दिन असक्षम हुन्छौँ।

५. स्वास्थ्य सम्बन्ध चेतनामा कमि- हामी ५२ डिग्री तापक्रम भएको देशमा आउँदै गर्दा आफूलाई कसरी स्वस्थ राख्ने भन्ने सामान्य कुराहरु जानिरहेका हुँदैनौ। खानपिनदेखि हरेक कुरामा हामी अनभिज्ञ छौँ। पर्याप्त पानी पिउनु पर्ने सितल खानेकुराहरु खाने र सरसफाईमा हेलचेक्र्याइँ गरिरहेका हुन्छौँ।

६. अदक्षता, सिक्न सक्ने क्षमतामा कमि- हामी कुन कामका निम्ति आएका हौँ भन्ने कुरा नै प्रस्ट नभई आउने गर्छौ र आए पछि पनि बर्षौसम्म त्यो काममा दक्षता हासिल गर्न सक्दैनौ।

७. लगनसिल, इमान्दार र सोझोपन- हामी चाहिने भन्दा धेरै लगनसिल, इमान्दार र सोझोपन देखाउने गर्छौ जसको फाइदा अरुले उठाउने गर्छन्।

८. पारिवारिक समस्या र तनाव- पुरै परिवार एकजनासँग आश्रित हुने हुँदा परिवारका हरेक आवश्यकता पुरा गर्नुपर्ने ठूलो जिम्मेवारी साथै परिवार सानो तिनो समस्याहरुले सँधै तनावमा रहनु पर्ने हुन्छ।

अरुको गल्ति केलाउनु भन्दा पहिले आफुमा रहेको गल्तिहरुको पहिचान गर्नु पर्ने हुन्छ। यी त हाम्रा समस्याहरु भए। यसो भन्दै गर्दा यहाँ समस्या नभएकै होइन भन्नु अनुचित हुन्छ। तर ती समस्याहरुको सुनुवाई हुने बिभिन्न निकायहरु छन् जहाँसम्म पुग्न हामी सकिरहेका छैनौँ। देश र सरकारका कमजोरीहरु बाहेक आफ्ना कमजोरीहरुलाई सुधार गर्नेहरु यहाँ युरोप अमेरिकामा भन्दा खुसी सँग जीवन यापन गरेका छन् भने शिक्षित दक्ष मानिसहरु युरोप अमेरिकाका पासपोर्टहरु साथमा राखेर यो देशलाई आफ्नो कर्म भूमि बनाएको उदाहरण पनि हामी बीच धेरै छन्।

नेपालमा डिग्री हासिल गरेकालाई पनि लेबर अथवा वर्किङ भिसा नदिने बेलायतले हामी अशिक्षितदेखि शिक्षित र अदक्षदेखि दक्ष हरेकलाई सजिलै वर्किंङ भिसा दिएको देश कतारका बारेमा बोल्दै गर्दा हामी ५ लाख नेपालीको भविस्यमाथिको राजनीति त हैन भन्ने मलाई लागेको छ।

( www.mysansar.com मा पोस्ट भएको मेरो पहिलो आर्टिकल)

मोहम्मद वाहिद अलि
अक्टुबर ०५ २०१३

No comments: