ल हीरो पिरो आए भन्दै आगनबाट देउरालीको चौतारीसम्म आवाज पुग्नेगरी दादीले हामीलाई बोलाउनु हुन्थ्यो। हामी तल देखि दादी भन्दै चिच्चाउथ्यौ १ घण्टाको उकाली ओराली पछीको थकाई बिसाउने ठाउ हो देउराली। उतर तीर टलक्क टल्केको माछापुच्छ्रे तल लामागेको फाट, आधिखोल र माथि स्यांगजा बजार साचै एकै एकदम मनोरम रमणीय ठाऊ छ देउरालीको चौतारी। हामीलाई थकाई मार्नु भन्दा पनी दादीको आवाजले छिटो घर मा पुग्ने हौसला दिने गर्थ्यो। हस्यांग फस्यांग गर्दै घरमा पुगेर दादीलाई सलाम गरेर घर नजिकको बगैचा तीर जान्थ्यौ। दादाहरुको पाला देखि नै दादाहरु ब्यापारको लागी बजार तीर नै बस्ने गर्नु हुन्थ्यो तर दादीलाई भने गाऊ नै प्यारो लाग्ने जस्तो सुकै अबस्थामा पनी उहा गाऊ छोडेर कही कतै जानु भएन। आफ्नो संतानहरु सबै सहर बजारमा भए पनी दादीलाई सहर भन्दा गाऊ नै प्यारो लाग्ने गर्थ्यो। त्यसो त हामीलाई पनी गाऊको धेरै माया थियो। पांच वकत को नवाज जस्तो सुकै अबस्थामा पनी नछोड़ने, सफा सुघरमा धेरै ध्यान दिने, अत्याचार सहन नसक्ने, निडर, अरु को आश्रय बिना बाच्नु पर्छ भन्ने भावना दादीको असल र भुल्न नसक्ने गुण हरु थिए। त्यसैले दादीलाई एउटा नाता रिस्ताले भन्दा पनि उहाँको स्वभाबबाट प्रभाबित भएर होला हामी हरेक पल उहाँ प्रति आत्म सम्मानका साथ हरेक पल सम्झिने गर्दछौ। (अल्लाह उहाँलाई जन्नत नसिब गरिदिउन)
ईद को अघिल्लो दिन ३० रोजा आमाले आज त चाँद देखिनु पर्छ भनेर सम्झाउनु हुन्थ्यो। बेलुका घाम डूब्ने बेलामा हामी चाँद हेर्न घर पछाड़ी जान्थ्यौ। एकदम मधुरो हसियाको धार जस्तो हुने भएकोले सजिलै आखाले देख्न गाह्रो हुन्थ्यो। त्यसैले बेलुका देखिनै बुढापाकाहरु रेडिओको बेन्ड खिच्दै एरिअल घुमाउने गर्थे। प्राय जस्तो पाकिस्तानी खबरलाई नै आधिकारीक मान्ने हुदा सबै जना पाकिस्तानी समाचार आफ्नो रेडिओमा टीपाउने कोसिस गर्थे। आज चाँद नजर आई भन्ने सुन्ने बित्तिकै सबै जना एकदम खुसी हुन्थे गाऊ भरी भोली ईद मनाउने हो भन्ने खबर एकछिनमा पुग्ने गर्थ्यो।
एक बिहानै आमाले सबै लाई गोसल गर्न उठाउनु हुन्थ्यो घर मुनिको धारामा त लाइन नै बस्नु पर्ने हुन्थ्यो। फेरी प्रयाजसो ईदको बेलामा नै पानिको समस्या हुने गर्थ्यो। गोसल गर्ने बित्तिकै नया लुगा लागाउनेको हतार हुनेलुगा लगाए पछि हाम्रो ध्यान सिरिफ तल बाटो तिर हुने गर्थ्यो किनकी दादा नआए सम्म इदको रौनक फिक्का हुने गर्थ्यो। दादेउ आए भन्ने स्वर कतैबाट आयो की आफैले देखियो भने मन फुरुङ हुन्थ्यो तर केही डर पनि लाग्ने गर्थ्यो शायद उहाँ प्रति हाम्रो इज्जत सम्मान भनौ या आदर गर्ने भएकाले होला मन भित्र एउटा अनौठो हलचल हुने गर्थ्यो। एकै छिन् मा घरमा हल्ला खल्ला मचिन्थ्यो दादेउ आगनमा आउने बित्तिकै हामी सबै आतिदै सलाम गर्थ्यौ। दादेउ कोट खोलेर भित्तामा राख्नु हुन्थ्यो र पिढीको खाटमा बस्नु हुन्थ्यो। दौरा सुर्बाल कालो कोट हातमा लठ्ठी अग्लो शरीर लामो फुलेको दारी उहाँको ब्यक्तित्वको जति प्रशंसा गरे पनि कमी हुन्छ। गाउको प्रतिष्ठित ब्यक्ति परिबर्तनशिल सोच समाजसेबी नेकदार परिचित ब्यक्ति जस्को नाती हुँ भन्दा आफैमा गर्ब लाग्दछ (अल्लाह उहाँलाई जन्नत नसिब गरिदिउन)। त्यस पछी हामीलाई एउटै कुराको इन्तजार हुने गर्थ्यो दादीले दादालाई सलाम गरेको हेर्न। दादा कान्छी दादीसँग बस्नु हुन्थ्यो हामी सानो हुँदै देखि दादा दादी राम्रो सँग बोलेको देखिएन उहाँहरु को दुर्लभ भेट हेर्न हामी आतुर हुने गर्थ्यौ। दादी भित्र देखि आएर दादालाई सलाम गर्नु हुन्थ्यो। सानै भए पनि हामी उहाँहरु को पलभरको मिलन देखेर एकदम खुशी हुने गर्थ्यौ। त्यस पछी हामी केटा केटीहरु छिट्टै नै मस्जिद तिर जान्थ्यौ सबैजना एक अर्कोलाई आफ्नो नया लुगा देखाउदै आफै मख्ख पर्ने गर्थ्यौ। केही छीनमा नै गाऊको सबै जना मस्जिदमा जम्मा हुन्थे मस्जिदको गेटको दुइतिर दुइजना रुमाल लिएर सदका जकातको पैसा उठाउथे। बुढापाकाहरु ढिलो गरेर आए पनि उनीहरु लाई अगाडिको सब दिनु पर्ने सुरुमा दोस्रो तेस्रो सबमा बसेको हामी साना केटा केटीहरु नमाज पढ्ने बेलामा जहीले पनि आखिरी सबमा नै नवाज पढ्नु पर्ने हुन्थ्यो। मस्जिद भरिएर बाहिर पनी दुइचार सब हुने गर्थ्यो। नमाज सके पछि इमाम हाजी साहब सुक्क सुक्क गर्दै आसू झार्दै एकदम दिल छूने सब्दहरु को साथमा दुवा गर्नु हुन्थ्यो। कालो सेर्बानी टाईपको कोट हाजीसल छोटो कद सेताम्य फुलेको लामो दारी मिठो स्वर उहाँ हेर्दा नै एकदम बुज्रुग नेकदार देखिनु हुन्थ्यो (अल्लाह उहाँलाई जन्नत नसिब गरिदिउन)। दुवा पछि सबै जना सुरुमा इमाम साहबलाई क्रमस दादा जेठोबा बाबा दाजू भाई र पूरा गाऊलेहरु एक अर्कोलाई ईद मुबारक भन्दै गला मिलाउथ्यौ। हामी केटा केटी भने इदी माग्नमा ब्यस्त हुन्थ्यौ। फेरी छिटो छिटो गर्दै घर गएर दादी आमा सबै लाई ईद को सलाम गर्थ्यौ र बाबाले सीधा इमाम साहब लाई लिएर घर आउनु हुन्थियो साथ मा सबै जना आएर नियाज गर्थे। धेरै भन्दा धेरै र मिठो परिकार हाम्रो घरको बिशेस्ता नै थियो। सेवई, सेल रोटी, हलुवा, अचार, गोस, पुलाऊ र फलफूल गाउको सबै जना लाई पुराउनु पर्ने हुदा एउटा भोज नै जस्तो हुने गर्थ्यो। घरमा भएका छोरा मान्छेहरु सबै एउटा घर नछोड़ी पूरा गाऊमा नियाज गर्दै नियाज खादै हिड्ने चलन थियो। आफ्नो घरमा नियाज गरेर सके पछि आइमाई केटीहरु पनी आफन्त नातेदारको मा गएर ईदको सलाम गर्ने र नियाज चाखन हिड्थे । केहि रमाइलो गर्दा आज त ईद आछ है तिमीहरु लाई भन्ने एउटा चलन नै छ हाम्रो तीर भने साच्चै को ईद मा रमाइलो नहुने कुरै भएन।
सबै ठाऊ मा नियाज गरेर सके पछिसबै जना मस्जिद नजिकै रहेको भलिबल ग्राउण्डमा जम्मा भएर भलिबल खेल सुरु हुन्थ्यो। त्यस्तै खेल सकिए पछि जसपुरमा अर्को जमघट हुन्थ्यो जहा लाहुरे दाई हरु को आर यक्स टेप मा घंकिने गीत संगै रंग रमाइलो गर्दै केटा केटीहरु बिभिन्न खेलहरु खेल्ने गर्थ्यौ। राती फेरी गाऊमा नै सबै जम्मा भएर रमाइलो गर्थ्यौ उमेर अनुसारको मज़ा रमाइलो गर्दै ईदको दिन लाई बिदा गर्दै सबै जना घर घर तीर जान्थ्यौ। तर गौडेको चौतारीमा राती सम्म गीतहरु सुन्दै रमाइलो गर्नेहरु पनी हुन्थे।
ईद त ईद नै भै हाल्यो त्यों दिनको रमाइलो मन भित्र देखिको खुसीको तुलना अन्य दिन संग गर्नु मिल्दैन तर ईद को भोली खेर देखि सुरु हुने मिलाद र आफन्त को घरमा खाना खान जाने चलन एकदम अबिस्मरणीय छ। हरेक बेलुका कुनै न कुनै घरमा मिलाद हुने गर्थ्यो मिलादमा पूरा गाऊ लाई निम्तेर भोज खुवाउने चलन थियो। हाम्रो घरमा पनी प्रत्यक बर्षको ईद या बकरीदमा मिलाद पढाउने गर्थ्यौ। आफन्तहरु लाई निम्तेर खाना खुवाउने र आफु हरु खाना जाने फेरी त्यों सबै सकेर मामा घर जानू पर्ने साचै त्यों बेला को ईद मनाउने सैली चलन र परम्परा सोच्दा पनी आफै दंग पर्छु।
हरेक एउटा पीढ़ी ले अर्को पीढ़ी संग तुलना गर्दा आफ्नो बाल्यकाल र त्यों बेलाको रंगरमाइलोहरु लाई एकदम सही र अबिस्मरणीय हरेक पक्ष ठीक थियो भन्ने गर्दछन। अहिलेको केटा केटीहरुले पनी पछि अहिले को दिन हरु लाई मैले जस्तो रमाइलो सोच्दै समझने छन सायद यसैलाई नै समय को परिबर्तन र सोच को परिबर्तन भनिन्छ ।
अन्त्यमा मेरो बाल्यकाल मा गाऊ मा मनायेका ईद को केही बिर्सन नसक्ने कुरा हरु दादी, दादी को हीरो पिरो, बाबा संग बाहिर खाट मा सुतेको, ईद को बिहान गोसल गरेको, दादाको इन्तजर, बाबा संग ईद को गला मिलाउदै इदी मागेको, दादी आमाहरु लाई ईदको सलाम र इदी मागेको, पूरा गाऊमा नियाज खान हिडेको, भलिबल खेलेको जसपुर मा रमाइलो गरेको र गाऊ बाट रांगखोला हुदै मामा घर गएको मिठो समझनाहरु लाई सम्झिना चाहन्छु जून मेरो लागी अबिस्मरणीय हुने छन।
(२०५०-२०५५ साल तिरको इदको सम्झनाहरु)
No comments:
Post a Comment