Wednesday, January 27, 2021

‘छुवाछुत विरुद्धको युद्ध’


समाधान राष्ट्रिय दैनिकमा २०७७ जेठ २९ गते प्रकाशित


जातीय छुवाछूत तथा भेदभाव (कसूर र सजाय) ऐन, २०६८  मा प्रष्ट भनिएको छ ।  कसैले जातीय भेदभाव वा छुवाछूत गर्ने कार्य गर्न कुनै प्रकारको मद्दत गर्न, दुरुत्साहन गर्न, उक्साउन वा त्यस्तो कार्यको उद्योग गर्न हुँदैन । तथापी जातीय छुवाछूतका सन्दर्भमा नेपालको पहिलो लिखित कानुन मुलुकी ऐन १९१० विज सावित भयो । किनकी मुलुकी मुलुकी ऐन १९१० मा प्रष्ट लेखिएको थियो  ठूलो जात, सानो जात, अनि ठूलो जातले सानो जातको हातबाट खान नहुने, खाए दण्डित हुने आदी । यसको बावजुद  इतिहासकारहरु जंगबहादुरको पालामा लिखित  मुलुकी ऐन पूरा राणा शासनकै एक ठूलो उल्लेखनीय उपलब्धि मान्दछन।  जस्ले त्यसबेला व्याप्त जातीय छुवाछूत तथा भेदभावको अवस्थालाई चित्रण गर्दछ। 

अन्तत २०२०    साल भदौ १ गते राजा महेन्द्रको समयकालमा मुलुकी ऐनलाई संशोधन गरेर नयाँ मुलुकी ऐनको रूपमा लागू गरियो ।  नयाँ मुलुकी ऐनले  नेपालमा प्रचलित जातीयता, लिंगभेद तथा छुवाछूत प्रथालाई समाप्त गर्न सक्ने मुक्तिदाताको रूपमा देखियो । दुर्भाग्य,  जातीय छुवाछूत तथा भेदभावको जरो हाम्रो समाजमा यती दरिलो सँग गडेको छ कि कानुन बनेको आधा शताब्दि वितिसक्दा पनि जातीय छुवाछूत तथा भेदभाव निर्मुल हुन सकिरहेको छैन। २१ औं  शताब्दिमा पनि विभिन्न बहनामा यस्को गन्ध आईरहन्छ। नीति, ऐन तथा कानुन मूकदर्शक छ। नीति, ऐन तथा कानुन अथवा कुनै जातिको कृपाले जातीय छुवाछूत तथा भेदभावको अन्त्य असम्भव छ।  यस्का निम्ती समुदायनै जागरुक हुनु आवश्यक देखिन्छ।   

जेठको दोस्रो साता पश्चिम रुकुमको चौरजहारीस्थित सोतीमा कथित उच्च जातीय अहंकारको ताण्डवले निम्त्याएको रुकुम नरसंहारले एकपटक नेपाली समाजलाई लज्जित पारेको छ। अझ भनौ नेपाली समाजको वास्तविकताको मुखुन्डो खोलिएको छ। विजातीय प्रेमका नायक २१ वर्षीय नवराज विश्वकर्मासहित छ जनाको बीभत्स हत्या वास्तवमा  काल्पनिक सिनेमाको दृष्‍य भन्दा भयानक थियो।  मानवताविरुद्धको एउटा बर्बर अपराध रुकुम नरसंहारले केही व्यक्तीका निम्ती रुकुम जिल्लाको ट्रोल बनाउने मसला भयो होला ।  तर विश्व भर नेपालीको शिर झुकेको छ। नेपालीको मानविय समवेदना माथि प्रश्न उठेको छ।   त्यसो त एउटा सज्जन नेपाली जस्लाई यो घटनाले  नदुखेको कहाँ होला।

केही दशक पहिले सम्म मुस्लिम समुदायको अवस्था निकै कम्जोर थियो। मुस्लिम समुदायपनी दलित अथवा दलन भएको समुदायकै अवस्थामा गुज्रिरहेको थियो ।  दलित अर्थात ती मानिसहरू जो आर्थिक अनि सामाजिक रूपले पछाडिएका र जसको आर्थिक, सामाजिक, राजनीतिक र धार्मिक रूपले प्राचीन कालदेखि उच्च वर्गहरूबाट शोषण र उत्‍पीडनमा परेका। कथा, व्याथा  अनी परिस्थिती समान थियो। तथापी  हाम्रो समुदायले आफुहरुलाई कुनै पनि अवस्थामा दलित भनेर स्विकार गरेन। राज्य तथा अन्य समुदायले कस्तो रुपमा चित्रण गर्दछन सरोकार भएन ।   किन कि दलित शब्द नै विभेद्को पहिलो कडी हो भन्ने हेक्का हाम्रो समुदायलाई थियो।  टाठाबांठा व्यक्ती, समुह तथा पार्टी  दलित शब्दका आधारमा राजनीति गरेर उचाईमा पुगे तर सतही उपलव्धी शुन्य भयो । दलित शब्द राजनीतिज्ञ, अधिकारकर्मी तथा सरकारी गैरसरकारी संस्थाहरुका निम्ती मागिखाने बाटो र कथित उच्च वर्गका निम्ती  तुच्छाउने, हेप्ने शब्दको रुपमा प्रयोग भईरह्यो। हाम्रो समुदायले आफुहरुलाई दलित समुदाय नमान्दैमा समुदायको उत्थान भएको पक्कै होइन। तर हामी दलित होइनौ भन्दै गर्दा आफ्नो आत्मा सम्मान मज्बुद पक्कै भएको थियो ।

हालका दिनहरुमा मुस्लिम समुदायमा  केही तिक्तता अनी  असन्तुष्टी सामाजिक सञ्जालमा पोख्दा प्रयोग हुने शब्दहरु निकै क्रुर किसिमका हुन्छन।  मुख्यत विश्वका कहलियका अधर्मी जस्ले धर्मका नाममा मानवको हत्या गरी संसारभरी आतंक मच्चाय तिनै जमात  सँग हामीलाई जोड्ने गर्दछन ।  यो त केवल मिथ्या आरोप हो । यो भन्दा भयानक स्थिती जातीय छुवाछूत तथा भेदभावको थियो । कथित उच्च  वर्गका मनिसहरु आफ्नो  तिक्तता अनी  असन्तुष्टी पोख्दा निकै तुच्छ भाषाको प्रयोग गर्नुका साथै तुच्छ व्यवहार देखाउने गर्दथे। जस्को प्रभाव यतिसम्म थियो कि हरेक मनिसहरु आँफै सँग युद्द गर्न थाले । आफु सँग अर्थात गरिवी, अशिक्षा तथा आफ्ना कम्जोरीहरु सँग। जुन भुसको आगो जस्तो थियो। भित्र भित्रै दन्किने। तर यो कसैका निम्ती घातक थिएन।  हाम्रो समुदाय विना आन्दोलन, विना राज्यको सहयोग, विना संघ- संगठन, विना एनजीओ आईएनजीओ, विना गैर  समुदाय प्रती आलोचना यो युद्द लड्यौ। वास्तवमा हामीले युद्द जित्यौ। जित्ने क्रम्ममा छौ।

समाज भित्रको यो असमानता बराबरी सम्म आईपुग्न हाम्रो समुदायलाई दशकौ लाग्यो। यो पक्कै पनि सहज थिएन। हाम्रो समुदायले जातीय छुवाछूत तथा भेदभावको अवस्थालाई शन्तिपूर्ण ढंगले जित्नु पछाडि धेरै उल्लेखनिय कार्यहरु गर्‍यो जस्को चर्चा गर्नु उचित होला।

आर्थिक अवस्थामा सुधार- सर्वप्रथम हाम्रो समुदायलाई गरीवी नै जातीय छुवाछूत तथा भेदभावको प्रमुख कारण हो भन्ने महसुस हुँदै गयो । वास्तवमा उच्च वर्ग उच्च हुनुको मुल कारण आर्थिक सम्पन्नता थियो। त्यसैले हाम्रो समुदाय आर्थिक अवस्थामा सुधार ल्याउन पहिलो संघर्ष थाल्यो।  शिप, कला, कृषि तथा व्यापरिक पृष्‍ठभुमी भएका मुस्लिम समुदाय  परम्परागत शैली त्याग्दै आधुनिकरण तर्फ उन्मुख हुँदै गए  । जस्ले गर्दा आय आर्जनमा सुधार भयो । त्यसो त पछील्लो समय वैदेशिक रोजगारीले पनि महत्वपूर्ण भूमिका खेल्यो। आर्थिक अवस्थामा सुधार आउँदै गर्दा समाजमा छुवाछूत तथा भेदभावमा निकै कमी आउन थाल्यो। अझ भनौ समान हैसियत बन्न थाल्यो । 

शिक्षामा सुधार- शिक्षित भए उच्च जाती कहलिने  कुरालाई हाम्रो समुदायले प्रष्टरुपले बुझ्दै गयो। शिक्षित वर्गलाई उच्च सम्मान उहिले पनि थियो र अहिले पनि छ। त्यसैले शिक्षा हाम्रो समुदायको प्राथमिकतामा  पर्‍यो।  अहिलेको नयाँ पिढी साक्षर मात्र होइन शिक्षित हुँदै गएका छन । केही दशक पहिले विदेश गएर आफ्नो आर्थिक अवस्थालाई सुधार गरेको हाम्रो समुदायको अबको क्रान्ति शैक्षिक क्रान्ति हो भन्ने बुझेको छ। उच्च शिक्षा प्राप्त गर्नेको जमात दिनानुदिन बढ्दै छ। उच्च शिक्षा प्राप्त गर्नका निम्ती विदेश तिर जानेको संख्या बढ्दो छ। जस्ले समाजले समुदायलाई हेर्ने दृष्‍टिकोणमा परिवर्तन ल्याएको छ।  

सामाजिक उत्तरदायित्व - सामाजिक उत्तरदायित्व हरेक सचेत नागरिकको कर्तव्य पनि हो। त्यसैले हाम्रो समुदाय समाजको उन्नती र प्रगतीका निम्ती  आर्थिक ,भौतिक तथा सामाजिक क्षेत्रमा सहयोग तथा सहभागीता जनाउन अग्रसर भयो । बिकास निर्माणका कार्य तथा भौतिक संरचना जस्तो धार्मिक स्थल, धर्मिक पाठशाला तथा समाधीस्थलको निर्माण,  संरक्षण तथा सम्वर्धनका निम्ती आफ्नै स्रोत, साधन र सहयोगले सम्पन्न गर्न थाल्यो। जस्ले गर्दा समाजमा आफ्नो समुदायलाई उदाहरणिय देखाउन मद्घत पुग्यो। 

राजनीतिक चेतनाको बिकास- राजनीति विना समुदायको उन्नती हुँदैन भन्ने ज्ञान पछील्लो पिढिमा धेरै बढेको पाईन्छ। फलत हरेक राजनीतिक गतिविधीमा हाम्रो समुदायको उल्लेखनिय उपस्थिती देखिन्छ। जस्को कारण हरेक राजनीतिक दलहरुमा हाम्रो समुदायको अवस्था तथा हक अधिकारको चिन्तन बढेको छ । साथै केन्द्र देखी स्थानीय तह सम्म पहुच तथा प्रभाव बढेको छ। जस्ले समुदायको पहिचानका निम्ती महत्वपूर्ण भूमिका खेलेको छ।

नैतीक, स्वास्थ तथा सरसफाई शिक्षा- परिवार तथा समाज भित्र बोलीचाली तथा व्यवाहारले   आफ्नो पहिचान देखाउदछ। जुन नैतीक शिक्षाको आवस्यकता महशुस हाम्रो समुदायले गर्‍यो । परिवार तथा सामाजिक कलह, गालीगलौज, अभद्र व्यवाहार , गन्यमान्य व्यक्तीको अनादर आदीमा धेरै सुधार गर्‍यो।  स्वास्थ तथा सरसफाई जस्लाई कथित उच्च जातिले धेरै महत्व दिने गर्दथे। जस्लाई हाम्रो समुदायले महत्वका साथमा लियो । 

जातिय  छुवाछूत तथा भेदभावको विरुद्द हाम्रो समुदायले  ‘माछा मागेर खान होइन, माछा मारेर खानु पर्छ’   भन्ने सिद्दान्त अबलम्बन गर्‍यो। हामी हाम्रो अवस्थालाई परिवर्तन ल्याउनका निम्ती कसैको सहारा लिएनौ, कसैलाई दोस थुपारेनौ। हाम्रो शैक्षिक अवस्था, आर्थिक अवस्था तथा राजनैतीक अवस्थाको सुधारका निम्ती हामी परनिर्भर नहुनु हाम्रो निम्ती सुखद कुरा भयो। अब हाम्रो परिवर्तनका कारण हाम्रो आवाजमा शक्ती छ। हामी समाजमा समान हैसियतका हिंडेका छौ । राज्यले हाम्रो अधिकाम्स महत्वपूर्ण हक अधिकार सुनिश्चित गरिदिएको छ। ति अधिकार प्राप्त गर्न हामी सक्षम हुनु पर्दछ। यती भनिरहदा हामी उच्च वर्ग कहलियौ भन्ने होइन। हामी विच समस्या छैनन भन्ने होइन। दुरदराज अहिले पनि थुप्रै समस्याहरु छन तथापी ति समस्याका सुधारका निम्ती हामी सँग सम्पूर्ण अधिकार राज्य व्यवस्थाले दिएको छ। अब हाम्रो अधिकार कथित उपल्लो जातिले खोसिदियो भनिरहने अवस्था छैन। हाम्रो समुदयमा आएको राजनैतीक, आर्थिक र शैक्षिक परिवर्तनले नत राज्य, राजनैतीक दल तथा कथित उच्च जाती कसैले हामीलाई पाखा लगाउने अवस्था छैन । 

नामको पछाडि जोडीने थरले उच्च ठान्नेहरु तर कर्म तथा व्यवहारले कम्जोर जो सुकै पनि  छुवाछूत तथा भेदभावमा परेका छन। कथित उच्च जातिका कतिपय व्यक्तीहरु हाम्रो घर भित्र होइन आगनमा सम्म बस्ने इजाजत हुँदैन। जस्मा स्वास्थ सरसफाईका कुराहरु हुन्छन। यहाँ मनन गर्नु पर्ने कुरा के हो भने। हाम्रो  देशमा मात्र होइन विश्वमा छुवाछूत तथा भेदभाव अहिले पनि व्याप्त छ। तर हाम्रो देशमा कतिपय मनिसहरुले  यसलाई जात, जाती अथवा धर्म सँग जोडेर हेर्ने गर्यौ।  वास्तवमा हाम्रो समुदायले यस्लाई जात, जाती अथवा धर्म भन्दा पनि अशिक्षा , गरिवी,  अज्ञानता, चेतनाको कमी तथा स्वास्थ सरसफाइको कमी आदी हो भन्ने बुझ्यो र यि सम्पूर्ण विरुद्द आँफैसँग  युद्द लड्यो अनी जित्यो अनी जित्ने क्रम्ममा छ।

No comments: