Wednesday, January 27, 2021

जात, धर्म र थरभन्दा माथिको हाम्रो समाज

 २०७७ वैशाख १४  गते प्रकाशित सेतोपाटीमा प्रकाशित 



म घृणा, अन्याय र अत्याचार सहन्नँ किनकी म घृणा, अन्याय र अत्याचाररहित समाजमा जन्मे, हुर्केको हुँ। आज पनि मेरो समाजमा त्यत्तिकै सौहार्द वातावरण छ। जब म कोरोना (कोभिड-१९)को माहामारीले विश्वमा कोलाहल मच्चिएको समाचार पढेर विक्षिप्त हुन्छु, घरको छतमा टहल्न पुग्छु। त्यहाँ म आनन्दित हुन्छु। यहाँ हरेक घरका छत अनि कौसीबाट एक-अर्कामा माया प्रेम बाडिरहेको देख्छु।


एकअर्काको हालखबर, सुख, दु:खका खबर लिरहेको देख्छु। साँचो भन्नु पर्दा कोरोनाले थप माया प्रेम सिकाउँदै छ। संसारका सर्वसाधारणदेखि महान् व्यक्तिहरु मानव जातिको रक्षाका निम्ति चिन्तित छन्। वास्तवमा अबको संसार कस्तो हुनेछ भन्ने कुरा अन्योल छ।

हाम्रो देशमा हरेक व्यक्तिको चिन्तन बेग्लै छ। देश चलाउनेलाई सत्ताको, व्यापारीलाई कालोबजारीको, धनीलाई कस्तो परिकार बनाएर खाने भन्नेको अनि गरीब, निमुखालाई राहतको। यसै बीच देशभित्र एउटा जमात धर्मको महानताको लडाईं जित्न लागि परेको देखिन्छ। थर, रुप, रङ अनि पोशाकको राजनीतिमा तल्लीन छन्। 

संसारको उदाहरणीय समाजको विभाजन गर्न लागि परेका छन्। तर वास्तविकता निकै फरक छ। यस्ता विभाजित विचार धेरै पटक तुहिएको छ।

कथित जनयुद्धको कारण देशमा संकटकालको अवस्था थियो। आफू आफ्नो खुट्टाले सही अथवा गलत भन्ने छुट्याएर हिँड्न नजान्ने उमेरमा  मोटर साइकल चढ्न सिकेको थिए। साँझको प्राथनाको निम्ति बाबा मस्जिद जाँदाको मौका छोपी घरबाट मोटर साइकल झिकेर फुर्के हुँदै म घरदेखि लग्भग एक किलोमिटर पर पुगेको थिए।

विस्तारै हिड्दा बाटोमा हिँड्नेले आफूलाई चिन्ने छन् र पो फूर्ति हान्न पाइन्छ भन्ने सोच त्यो बेला नै आइसकेको थियो। अर्थात मेरो गति मध्यम नै थियो। अगाडिको मोडमा मान्छे अनि गाडीको भीडभाड केही  बाक्लो थियो। यही भीडले मलाई यहाँसम्म डोराएको थियो। 

म मेरो बाइक अचानक रोक्न पुगे। अगाडि कुकुर थियो। कुकुर जोगियो, म फसेँ। लाइसन बिनाको म पुलिसको मुखमा पुगेको थिए। गस्तीका निम्ति हिँडेका पुलिस, आर्मीको संयुक्त टोली सामुन्ने मेरो बाइक रोकिनु अपराध थियो। उनीहरुलाई मेरो लाइसनसँग कुनै सरोकार थिएन।

वाइकबाट झर भन्ने हुकुम भयो। मेरो बाइकको चाबी खोसियो। दुई सुरक्षाकर्मीले अपराधी समात्ने शैलीमा मलाई केही पर लगे। मनमा बाच्ने कुनै आशा बाँकी थिएन। अल्लाह, बाबाआमा, परिवार अनि मेरो यो खबरले मर्माहित हुने सबैलाई सम्झिए। घरदेखि सिधा पारीको जंगलमा  लगभग एक घन्टा जति म पथप्रदर्शक जस्तै गस्तीको अघि-अघि हिडिरहेको थिएँ।

घरमा खबर पुगेछ। बाबाका मित्र तत्कालीन शाही सरकारका मेयर अनि हाम्रा छिमेकी जयनारायण श्रेष्ठ बुबाको पहलमा तत्काल मेजर, डिएसपी तथा सिडियोको फोन गस्ती प्रमुखलाई भयो। म छुट्न सफल भए। घर आउँदा टोलभरीका मान्छे जम्मा थिए।

कर्फ्यू तोडेर हाम्रो टोलबाट यो घटनाको विरोध भयो। टोलका पाका कुलबहादुर रानामगर बजारका प्रसिद्ध कसाई थिए। उहाँ खसीबोका काट्ने लामो खुर्पा बोकेर निस्किनु भयो। सबै जना उहाँलाई सम्झाउदै थिए। उहाँ खुर्पा लिएर ब्यारेक जान्छु भन्दै हुनुहुन्थ्यो। टोलका सुमन तझ्या (नेवार) दाइ अनि उहाँको परिवार, सृजना परियार दिदीको परिवार लगायत टोलका सम्पूर्ण ब्यारेक जाने पक्षमा थिए।

तत्कालीन अवस्थामा स्याङ्जा सदरमुकाम जहाँ ठूलो सुरक्षा चुनौती थियो। त्यसमाथि संकटकाल अनि कर्फ्यू। टोल तथा छरछिमेकीबाट यो किसिमको माया, सहयोग र प्रतिकारले म जीवनभर उहाँहरु प्रति  आभारी  छु।

लाइसन बिनाको मेरो उदण्डताले बुबा अनि ट्राफिक अंकल आजित थिए। त्यसैले घरबाट मलाई लाइसन निकाल्ने अनुमती मिल्यो। थापा अंकल (ट्राफिक)लाई लाइसेन्स देखाए। उहाँ खुशी हुनुभयो, अब बारम्बार चेकिङमा सम्झाई बुझाई छाड्नु नपर्ने भएकाले होला। त्यसो त घटना घटिहाल्यो भने म जोगिन्छु भनेर पनि होला।

हामी लाइसेन्स बनेको खुशी मनाउन केही बाइक लिएर बजारभन्दा परको सानो बजारतर्फ गयौँ। यसरी हिड्दा लडाईं झगडाबाट टाढा रहने हाम्रो ग्याङ्गसँग परिवारको ठूलो आपत्ति थिएन। एक किसिमले उहाँहरु ढुक्क हुनुहुन्थ्यो।

विडम्बना जे नहुनु थियो, भयो। रमाइलो गरी फर्कने क्रममा मेरो बाइक नाइट बसको गल्तीले धन्न कल्भट भित्र खसेन। म भयवित थिए। मलाई राजन श्रेष्ठ, कुमार विक लगायतका साथीहरुले सम्हाल्दै थिए। अन्य साथीहरु बसको पिछा गर्दै अगाडि गएको थाहा पाएर हामी पनि हिड्यौँ।

नाइट बसको रफ्तारलाई जित्न उनीहरु सफल भएछन्। हामी पनि केही बेरमा त्यहाँ पुग्यौँ। साथीहरुले बस रोकेर ड्राइभरलाई तल झारेर राखेका थिए। दिपक थापा हाम्रो ग्याङ्गको सबैभन्दा छोटो हुनुको बाबजुद पनि बसका सिसा फुटाउन खोज्दै थियो। हामीले हाम्रो साथीहरुलाई नै सम्झाउन हम्मे-हम्मे भयो।

महेन्द्र विक, सुरज श्रेष्ठ लगायत साथीहरुले ड्राइभरलाई हात जोडेर माफी माग्न लगाए। मुस्लिम साथीहरु सागिर, मन्जुर अनि अमिरको साथीत्व पनि उतिकै थियो। यदी हामीले त्यहाँ केही घटना घटाएका हुन्थ्यौँ भने प्रहरी प्रशासनभन्दा ठूलो सजाय घर परिवारबाट पाउने थियौँ। तथापी साथीहरु मेरो निम्ति यो सब गरिरहेका थिए। यो जीवनको सम्झिन लायक क्षण थियो।

हाम्रो जमानामा हाम्रो बजारमा तिहारको रमझम केही विशेष हुने गर्दथ्यो।  देउसी-भैली खेल्ने एउटा समूहमा मुस्लिम युवाको बाहुल्यता देखिन्थ्यो।  हाम्रो समुदाय अनि परिवारले यस्ता कृयाकलाप प्रति खुलेआम स्वीकृति नदिएता पनि सामाजिक सद्भाव दर्साउनका निम्ति युवाहरु आफूखुसी रमाइलो गरेका हुन्थ्यौँ।

तिहारको दिन हिन्दी गीतमा साथीहरु नाचिरहेका थिए। त्यसै बीचमा म, सागिर, अमिर मिलेर पटका पड्काउँदै थियौँ। ट्राफिक व्यवस्थापनाका निम्ति ट्राफिक दाई रोडमा खटिएका थिए। पटका पड्काउँदै गरेको देखेर उनी हामीतर्फ आक्रोसित हुँदै आए। पटका पट्काउन तयार सागिरको हातमा उनले बुट बजारे।

एकाएक स्पिकर बन्द भयो। सबै जना चिच्याउन थाले। चारैतिरबाट ट्राफिकमाथि आक्रोस पोख्दै थिए। तनावपूर्ण स्थिति भयो। राजन श्रेष्ठ, कुमार विक, सुरज श्रेष्ठ, सुरेस विक, महेन्द्र विक, सागर गुरुङ, दिपक थापा, दिपेन केसी, बिरेन्द्र खड्का, बिबेक श्रेष्ठ लगायत सम्पूर्ण देउसी-भैलीका समूह ट्राफिकमाथि खनिदै थिए। यहाँसम्मकी त्यस टोलका सम्पूर्ण हाम्रो पक्षमा उठ्यो।

ट्राफिकले पटका पड्काउनेलाई नियन्त्रणमा लिने अनि कारबाही गर्नेभन्दा पनि बल प्रयोग गरेकोमा सम्पूर्ण आक्रोसित थिए। थप प्रहरी बल आयो, टोलवासीले प्रतिकार गरे। अन्तत स्थिति सामान्य भयो। त्यसबखत साथीहरुको प्रतिकार अनि बहादुरीसँगै टोलबासीको संरक्षण हाम्रो निम्ति अविस्मरणीय भयो। 

स्कुलबाट पिकनिकजाने सल्लाह हुँदै थियो। स्कुलमा मुस्किलले हामी दुई/तीन जना मुस्लिम थियौँ। घरमा बाबा आमाले सम्झाउँदै हुनुहुन्थ्यो, मासु हलाल हुँदैन, नखानु भनेर। हामीलाई पिकनिकमा खानपिनसँग कुनै सरोकार थिएन। हामी पिकनिकको रमाइलो मात्र सम्झिरहेका थियौँ।

शुक्रबारको दिन मुक्तीप्रसाद रेग्मी सर लगायत अन्य सर, मेडम  पिकनिकको तयारीमा जुट्नु भयो। उहाँहरुले समान किन्नका निम्ति समूह छुट्याउनु भयो। सबैले आफ्नो आफ्नो जिम्मेवारी पाए। त्यतिकैमा जिम्मेवार विहीन हामीलाई सरले बोलाउनु भयो। तिमीहरुले मासुको जिम्मा लिन पर्‍यो। हामी अक्क नबक्क भयौँ।

हामीहरु अर्थात् म र अर्को मुस्लिम साथी। हामी निकै खुशी भयौँ। सरले हामीलाई मासु किन्ने जिम्मा दिनुको अर्थ हलाल मासु किन्नु थियो। हरेक दिन जस्तो घरमा पाक्ने मासु हाम्रो निम्ति नौलो थिएन। सरहरुले हामी दुई जनामाथि देखाउनु भएको सद्भाव हाम्रो निम्ति अमूल्य थियो।

यी केही प्रतिनिधि घटनाहरु हुन्। यहाँ श्रेष्ठ, विक, थापा, मगर, गुरुङ, केसी, परियार, खड्का तथा रेग्मी भनेर थर लेखिरहनु आवश्यक होइन। हामी सामान्यतया साथीभाइ हिड्दा बोल्दा यस्ता थरको प्रयोग कहिले गर्दैनौँ। म अनि मजस्ता धेरै मुस्लिम साथीहरुको अधिकांश साथीहरु यस्तै थर भएका हुने गर्दछन।

हामी थरका पछी कहिले लागेनौँ। उनीहरु हाम्रो चुल्होमा पाकेको खाए मात्र मित्र हुने सोच कहिले लिएनौँ। हामीलाई पनि उनीहरुको चुल्होमा पाकेको खानामा कहिले जबर्जस्ती गरिएन। आफ्नो धर्म, कर्म अनि आस्थालाई सँगै बोकेर मित्रताको लामो यात्रा तय गरेका छौँ। जुन हाम्रो पूर्खादेखि चलीआएको रित हो। जुन हालसम्म कायम छ। 

हाम्रो मुख मलिन हुँदा पहिलो प्रश्न अथवा पहिलो खोजी साँध जोडिएको छिमेकीले गर्दछन। अधिकांश साँध जोडिएका छिमेकी गैर-मुस्लिम हुन्छन्। छिमेकी नभए स्कुल, अफिस, समाजिक सञ्जाल तथा व्यापारिक मित्र, साझेदार आदि कहीकतै गैर-मुस्लिम नै हुने गर्दछन। जसले हाम्रो धेरै फिकर गरिरहेका हुन्छन्।

कोरोनाको  महामारीसँगै छिमेकका लखर-लखर डुल्ने भाइ, छोरालाई मेरो आमाले गाली गर्दैगर्दा छिमेकी आन्टीले हो मा हो थप्छिन्। हरेक दिन जस्तो घरको छत-छतबाट कोरोनाका बारेमा छलफल हुन्छ। यसको प्रकोप तथा यसले निम्त्याउन सक्ने विकराल परिस्थितिसँग जुध्ने उपायहरुका बारे चिन्तन हुन्छ।

मेरो बुबा आफ्नो किराना पसल छिमेकीका निम्ति जुनबेला खुल्ला छ भन्नु हुन्छ। पसलमा कसैले घन्टी बजायो कि हामी तुरुन्त उनीहरुको सेवामा जुट्छौँ। टोल वस्तीमा भएका निमुखाहरुको विवरण सम्वन्धित वडामा दिएका छौँ र आफूबाट पनि सक्दो सहयोग गरेका छौँ।

यो बेला अथवा कुनै पनि बेला थरको पछाडि न हामी, न हाम्रो छरछीमेक, न हाम्रो समाज लाग्यौँ। यो नै हाम्रो यथार्तता हो। यो नै हाम्रो समाज हो।


No comments: