Wednesday, June 20, 2018

सद्भाव बाँड्ने पर्व ईदउल फित्र


"कान्तिपुर डेलीमा असार ३, २०७५ प्रकाशित मेरो लेख" 

ईस्लाम धर्मावलम्बीहरु हरुको महान पर्व ईद उल–फित्र हो जुन एक महिने रमजानको रोजा (वर्त) समाप्ति संगै मनाइने गरिन्छ संसार भरिका मुस्लिमहरु यस पर्वलाई उत्सव तथा उमङ्ग साथ् मनाउने गर्दछन ईद आपसी प्रेम एवं सद्भावले बाँध्ने पर्व हो ईदको प्रार्थना संगै एक आपसमा क्षमा माग्ने र क्षमा दिने गरिन्छ जसले समाज, छरछिमेक तथा आफन्तबीचको तिक्तता मेट्छ समग्रमा ईदले एक आपसमा भाइचाराको सम्बन्ध स्थापित गर्दछ



विश्व भरि छरिएर रहेका ईस्लाम धर्मावलम्बीहरु पवित्र कुरानले देखाएको मार्गदर्शन लाई अनुशरण गर्दछन सकेसम्म सामान्य त्रुटिमा पनि सजग रहने गर्दछन मानव जातिको  धर्म र संस्कृति बीच अटुट आस्था रहेको छ धर्म र संस्कृति बीच केहि अन्तर्सम्बन्ध रहेको हुन्छ तथापी धर्म ईश्वरीय देन हो भने संस्कृति पुर्खा हरुबाट हस्तान्तरित हुदै आएको चालचलन हो मानिस जस्तो सामाजिक परिवेशमा जन्मन्छ र समाजको काखमा हुर्कन्छ उनीहरुमा त्यस समाजको प्रचलित मानवीय स्वाभावले अवश्य प्रभाव पारेको हुन्छ त्यसैले चाडपर्वहरु मनाउने क्रममा ति भिन्न संस्कृतिले प्रभाव देखिन्छ  


ईस्लाम धर्मको उद्गम स्थल अरब हो अरब अनि नेपालमा मनाइने ईदमा नवाज (प्रार्थना) र ईद संग सम्बन्धित धार्मिक कुराहरु समान छन् तर पर्व आ-आफ्नै मौलिकता अनुसार मनाउने गरिन्छ त्यसो त हाम्रो पुर्खाहरु ले  धार्मिक ग्रन्थहरु बाट अरब संस्कृतिको अध्ययन नगरेका भने होइनन तथापी हाम्रो संस्कृतिमा अरबिक संस्कृति हावी हुन पाएन हाम्रो चाडपर्व रितिरिवाजमा आफ्नै मौलिकता छ
नेपाल बहुल जाति, भाषा, धर्म, संस्कृति भएको देश हो नेपाली मुस्लिम समुदायको बीचमा पनि भेग अनुसार भिन्न संस्कृति र भिन्न भाषा बोल्ने गरिन्छ यसरि समान धार्मिक आस्था भएता पनि तराई, पहाड र उपत्यका भित्र रहेका मुस्लिम समुदायहरु बीच पर्व मनाउने क्रममा केहि फरकता भेटिन्छ


भिन्न भाषा र भेग अर्थात् मियाँ भाषा बोल्ने र पहाडमा बसोबास गर्ने मुस्लिम समुदायहरुको ईदका बारेमा चर्चा गरौ पहाडमा बसोबास गर्ने मुस्लिम समुदायहरु ईद पर्व निकै हर्सोल्लासका साथ् मनाउने गर्दछन ईदको केहि दिन अघि देखिने केटाकेटी, जवान, बुढापाका सबैको मुहारमा ईदको रौनक देख्न सकिन्छ बुढापाकाहरु भने रमजानको महिना सकिएको मा केहि दुख मनाउ गर्दछन किन कि यस महिनामा गरिने धर्म, कर्म, दान अन्य महिनाको भन्दा श्रेष्ठ मानिने गर्दछ  यो पवित्र महिना अर्को पटक नभेटिने हो कि भन्ने चिन्ता उहाँहरु मा रहने गर्दछ
पहाडमा पहिले चाडपर्व हरु गाउँ केन्द्रित थिए अहिले अवस्था फेरिएको छ हरेक बजार, बस्तीहरुमा मस्जिद मदर्शा निर्माण भएको छ  मानिसहरु आफ्नो सहजतामा गाउँ, बजार जहाँ पनि ईद मनाउने गर्दछन   गाउँमा मनाइने चाडपर्व को रौनक बेग्लै हुने गर्दथ्यो बजारमा त्यो किसिमको स्वाद पाउन सकिदैन


ईद आउनु केहि दिन अघि देखि नै घर रंग रोगन, सरसफाई गर्ने काम हुन्छ कमाउन देश-विदेश लागेकाहरु घर फर्किने गर्दछन केटाकेटिहरु लाई नयाँ लुगाफाटो किन्ने हर्ष हुन्छ ईदको दिनमा कमसेकम एकसरो नयाँ लुगा फेर्नु पर्दछ भन्ने मान्यता छ त्यसैले लुगाफाटो किनमेल, सिलाई गर्न सबै उमेर समुहकाहरु मा उतिकै उत्साह देखिन्छ ईदको दिन बनाइने विशेष परिकारहरु को किनमेल पनि केहि दिन अघि बाट नै सुरु हुन्छ हरेक घरहरुमा ईदको रौनक दुई/चार दिन अगाडी बाट नै देख्न सकिन्छ


ईदको विशेषता भनेको ईद निश्चित दिन भनेर तोकिएको हुदैन पुर्णिमाको चन्द्रमा डुबेर औंसी पछि पहिलो पल्ट आकसमा चन्द्रमा देखिए संगै ईद सुरु हुन्छ त्यसो त ईस्लामिक क्यालेन्डरको १० औ महिना अर्थात् शव्वाल महिनाको पहिलो दिन लाई ईद भनिन्छ रमजानको २९ औ रोजा (वर्त) पुरा भए संगै मगरिबको नमाज (घाम अस्ताउने बेला गरिने प्रार्थना) अघि बुढापाकाहरु आकासमा चन्द्रमा हेर्ने गर्दछन त्यसो त रमजानको २९ औ अथवा ३० औ रोजाको अन्त्य संगै चन्द्रमा देखिने गर्दछ चन्द्रमा हेर्नका निम्ति नेपालमा चाँद कमिटि पनि रहेको छ जसले चन्द्रमा देखिएको कुरालाई आधिकारिक रुपमा पुष्टि गर्दछ यसरि चन्द्रमा देखिए संगै एकअर्कामा खबर पुराउने र शुभकामना दिनेकाम हुन्छ


ईदको दिन विहान सम्पूर्ण परिवारले ईदको गुसल (स्नान) गर्दछन विहान घरमा सेवई (रमजान र ईदको विशेष परिकार) र फलफुलहरु राखेर मान्यजन बाट नियाज फातिया (प्रार्थना) हुन्छ एक महिनाको रोजा (वर्त) पश्चात पहिलो पल्ट सुर्यको उज्यालोमा खाना खादा केहि अनौठो लाग्ने गर्दछ घर परिवार, छरछिमेक सबै तिर बिहान देखि नै चहलपहल देखिन्छ
ईदको नवाज (प्रार्थना) विहानको समयमा हुन्छ बुढापाका हरु कुर्था, सुरुवाल र सफारी (स्टकोट) माथि ढाका टोपी अथवा अन्य टोपी लगाई तयार हुनुहुन्छ त्यस्तै आखाँमा सुरमा र अत्तरको सुगन्ध लगाउन छुटाउनुहुदैन पछिल्लो समय कुर्था, सुरुवालमा युवाहरुको पनि रुची देखिन्छ आमा हजुरआमाहरु गुनियो, चोली अथवा कुर्था, सलवार माथि हिजाब लगाउने गर्दछन युवती हरुको रोजाईमा पनि कुर्था, सलवार पर्ने गर्दछ पछिल्लो समय बुर्का, अभया तर्फ आकर्षण बढ्दो छ यसरि नयाँ पहिरनमा सजिएर सबै जना मस्जिद अथवा ईदगाह ( ईदको नवाज पढ्ने विशेष ठाउँ) तर्फ जाने गर्दछन


ईदको विशेष नवाज सुरुहुनु पुर्व सदका ए फित्र (दान) दिने चलन छ दान दिन सक्ने हैसियत भएकाहरु ले परिवारका प्रतेक सदस्यको नाममा सदका ए फित्र दिने चलन छ यसरि दान दिएर मस्जिद अथवा ईदगाहमा जम्मा भई सामुहिक नमाज (प्रार्थना) पढिन्छ नमाज सके पछि ईमाम (धर्म गुरु) ले सबैको जीवनमा सुख, समृद्धिको कामना गर्नु हुन्छ एक महिने कठोर वर्तको पुन्य प्राप्ति होस् भनेर अल्लाह संग प्रार्थना गर्नुहुन्छ  प्रार्थनाको अन्त्यमा सबै जना एक अर्का संग गला मिलाएर क्षमा माग्ने र दिने गर्दछन आफु भन्दा साना लाई आसिक दिने गर्दछन नमाज पढेर बाहिर निस्किदै गर्दा मान्यजनहरु केटाकेटिहरु लाई ईदीको खुसियालीमा पैसा (ईदी) दिइन्छ ईदको अर्को महत्वपूर्ण पाटो भनेको केटाकेटी हरुलाई खुसि पार्नु पनि हो


यसरि मस्जिद बाट निस्केको जमात (समुह) बस्तीका सबैको घर-घरमा गएर नियाज फातिया (प्रार्थान) गर्दछन सबै घरहरुमा मिठा परिकारहरु खाने खुवाउने काम हुन्छ दिन भरि जस्तो एक अर्काको घरमा आउने जाने र ईदको सलाम (आशिर्वाद) लिने दिने काम हुन्छ यसरि समाजका सबै घर-घरमा गएर सलाम (आशिर्वाद) लिने दिने गर्दा आपसी कटुता, तिक्तता र तनाब समाप्त हुन्छ जसले गर्दा समाज, आफन्त, इष्टमित्र बीच भाईचाराको सम्बन्ध र आत्मियता प्रगाढ रहन्छ यसरि ईदको पहिलो दिन समाप्ति हुन्छ


ईदको दोस्रो दिन बिहे भएका टाढा गएका चेलीबेटीहरु आउने गर्दछन चेलीबेटी संगै जुवाईचेलाहरु पनि आउने गर्दछन चेलीबेटीहरु सेल रोटि, फलफुल, मिठाईहरु सगुनको रुपमा ल्याउने गर्दछन ईदले लामो समय टाढा परिवार लाई जोड्ने काम गर्दछ जसले आपसी सम्बन्धमा प्रगाढता ल्याउने गर्दछ
ईदको तेस्रो दिन आफ्ना खानदानका सबै चेलीबेटी हरु संगै दाजुभाईका परिवारलाई पनि निम्तो दिएर भोजभतेर लगाउने चलन छ भोज भतेर खाने खुवाउने क्रम लगभग हप्ता दिन सम्म चलिरहन्छ आजकल ईदमा परिवार सहित नयाँ ठाउँमा घुमफिर गर्ने चलन पनि बढ्दो छ यसरि ईद निकै सौहार्दपूर्ण रुपले सम्पन्न हुन्छ


समयसंगै चाडपर्व र संस्कृतिका रुप र पक्षहरु परिवर्तन हुदै जानु सामान्य कुरा हो तर परिवर्तन को सिलसिलामा चाडपर्व हरुको मुल मर्म ओझेलमा पारिनु हुदैन चाडपर्वमा नयाँपनले  विकृति ल्याउछ यस बारे सोच्न जरुरि छ हाम्रा चाडपर्व, संस्कृति भनेको राष्ट्रका गहना हुन्   यसलाई जीवन्त राख्नु हाम्रो कर्तब्य हो


ईद उल–फित्र को अवसरमा नेपाल मा सुख शान्ति तथा धार्मिक सहिष्णुता कायम रहोस     शुभकामना

- मोहम्मद वाहिद अलि




 

No comments: