Tuesday, May 29, 2018

कथा- खलासी देखि पाइलट सम्म



        केहि पर झिलिमिली शहर थियो शहरको उज्यालो सापटी लिएर नै उसको घरको आगनी उज्यालो हुन्थ्यो परिवारले एक अर्कालाई चिन्न सक्ने उज्यालो महँगो मट्टीतेल औषधिको सिसीमा झुम्रो हालेको टुकी बाल्न सम्म गाह्रो थियो टुकीको उज्यालो त केवल खाना खान र भाई बैनीले होमवर्क गराउनका निम्ति मात्र थियो

            कमले अर्थात् यस कथाको हिरो जसलाई आफ्नो परिवारको गरिबी प्रति निकै हीनताबोध हुने गर्दथ्यो ति झिलिमिली शहरमा हुर्केका आफु संगैका दौतरी जसको भविष्य तिनका घरका उज्याला बत्ति भन्दा चम्किला थिए कमले जसको भविष्य उसको झुपडी भित्र उ र उसका भाईबहिनी सुत्ने कोठा जस्तै अन्धकार थियो बढ्दो उमेर अनि झन् झन् खस्किदो परिवारको आर्थिक अवस्था अब कमले लाई जीवनमा संघर्ष नगरि यो अन्धकारलाई चिर्न सकिदैन भन्ने लाग्न थालेको थियो जसका निम्ति उ संग केवल एउटा मात्र विकल्प थियो बस्तीका अरु साथीहरु जस्तै गाडीमा हिड्ने
          एकदिन कमले आफ्नो बाबु आमा सामु आफु गाडीमा हिड्न चाहेको कुरा सुनायो गाडीमा हिड्ने अर्थात् खलासी हुने छोराको निर्णय प्रति बाबुको विमति थियो किन कि कमलेका बाबुले निकै कस्ट गरेर छोरालाई क्याम्पस पढाएका थिए क्याम्पस पढ्दैमा सरकारी जागिर पाउने अवस्था थिएन त्यसैले छोरा लाई अरब पठाउने उनको चाहना थियो जसका निम्ति भरिया गर्ने साहु संग ऋणको कुरा पनि गरिसकेका थिए तर कमले लाई ऋणको भारी बोकी अरब जान मन थिएन
        कमले खलासी बन्नका निम्ति पहिलो संघर्ष आफ्नो परिवार संग गर्नु पर्यो बाबु आमा बाट स्वीकृति नमिल्ने पक्का भए पछि कमले एक्लैले घर छोड्ने निर्णय गर्यो साँझ पर्दै थियो पर बाँसको झुलमा चराहरु वास बस्न चिरबिराउँदै थिए कमले आफु क्याम्पस पढ्दा बाबुले किनिदिएको ब्यागमा दुइचार जोर लुगा कोचेर घर छाडी सुटुक्क हिड्यो कमलेको निर्णयले उसका परिवार निकै दुखित थिए कमलेका बाबु जसको छोरालाइ अरबे लाहुरे बनाउने सपना तुहिएको थियो आमा भाई बैनीहरु लाई घरमा कमलेको कमि महसुस भैरहेको थियो
        कमले घर छाडेको महिना बितेकै दिन घर अगाडी आर एक्स मोटरसाइकल रोकियो भिजिलान्ते मानिस मोटरसाइकल बाट उत्रियो रेबन चस्मा खोल्दै कमलेको घर यहि हो भनेर सोध्यो हो हजुर कमलेको बाउले जवाफ दिए तिम्रो छोरा मेरो गाडी को खलासी भयो अब तिम्रो घरमा सुखका दिन आए भन्दै छोराको पहिलो तलब ५०० रुपियाँ हातमा थमायो उ बसको  मालिक त्यति भन्दै उ आफ्नो गन्तब्य तर्फ हुइकियो कमलेका बाबु आमाको लागि त्यो पैसा निकै भारी भयो दुबैका गह भरिए उनीहरु छोरा माओवादीको जनयुद्दमा होमिएको जस्तै लाग्न थाल्यो कहिले, कहाँ निर भिर बाट सयौ मिटर तल खस्ने हो या चिसोले अथवा कसैको कुटाइले मर्ने हो  
          कमले जसको जीवनमा सुख लेखिएको थिएन खलासी बने पछि पनि उसका दुखका कहानी उस्तै थिए उसले खलासीको जागिर जोगाउनका निम्ति आफ्नो पुरा जवानी बसको सिटमा सुतेर बितायो त्यसो त  कमले सानो सपना देख्ने मानिसको भिडमा कहिले उभिएन उ बेलुका होटेलमा खाना खाएर बसमा सुत्न जान्थ्यो बसको भित्र नै उसलाई महल लाग्थ्यो उ फोल्डिंग वाला सिटमा लम्पसार पर्थ्यो जहाँ उसले कहिले कन्डक्टर र ड्राइभर हुने सपना देखेन बसको मालिक बन्ने सपना पनि देखेन उ बस मालिक हरुको पनि मालिक बन्ने सपना देख्ने गर्थ्यो
          कमलेको यो सपना असाधारण सपना थियो किन कि उसंग सम्पतिको नाममा बाबुको सुकुम्बासी को झुपडी बाहेक अन्य केहि थिएन तर उसले आफ्नो असाधारण सपना साकार पार्न दृढ संकल्प गरेको थियो उसंग केहि आधारहरु पनि थिए जसमध्य एउटा आधार भनेको मानिसहरु लाई आकर्षित गर्ने वाककला उ संग थियो
            खलासी बनेको केहि समयमा नै उ आफु जस्ता धेरै खलासीहरु संग सम्पर्क बढाएको थियो मालिकहरु बाट पिडित भएका खलासीहरु लाई आफ्नो अधिकारका निम्ति लड्नु पर्छ भन्ने कुरा सम्झाउने गर्थ्यो आफ्नो अधिकारका निम्ति हामीहरु संगठित हुनु पर्छ भन्ने चेतना बढाउन थाल्यो उसको अभियान ले समयमा नै सफलता मिल्दै गयो उसका पक्षमा धेरै खलासी हरु उभिन थाले
            कमले खलासीहरु माझ नायक बनेर छाउन थालेको थियो अब कमले लाई जिउनका निम्ति खलासी काम गरिरहनु आवश्यक थिएन बसपार्क देखि उसको संजाल पुरै शहर भरि फैलिन थाल्यो जब कमले को समुह पिडित खलासीहरु को अधिकारका निम्ति बस मालिकहरु संग प्रतिसोध लिन थाले उनीहरुको चर्चा झन् झन् बढ्दै गयो यसरीनै क्रमस जालो देश भरि फैलिदै गयो बसका मालिक संग हप्ता असुली गर्ने देखि बसको रुट सम्म उनिहरु बाट चल्न थाल्यो खलासी लाई खाते भनि तुच्छ व्यवहार गर्न बस मालिकहरु आज आफ्नै खलासीहरु बाट त्रसित हुन् थाले
           कमलेको गतिविधिले सम्पूर्ण नेपाल भरिका बस मालिकहरु आतंकित थिए कमलेको आतंक बाट मुक्ति पाउनका निम्ति उनिहरु बल बुद्दी विवेक सबै प्रयोग गरे तथापी उनिहरु सफल हुन सकेनन कमले हप्ता असुली कै भरमा धेरै बसहरु र सम्पति जोड्न सफल भएको थियो अन्तत ‘चोरको हातमा चावी’ भने जस्तै कमले लाई बस मालिकहरुले आफ्नो लिडर बनाउने निर्णय गरे
         केहि बर्षको अन्तरकालमा कमले को कायापलट भएको थियो कमले झुपडपट्टि बाट ठुलो बंगलाको मालिक भएको थियो परिवारको सान सौकत फेरिएको थियो कमले मात्र होइन उसका नजिकका सहयोगीहरु को पनि दिन फेरिएको थियो
           एकदिन कमले घरको छतमा बसेर आकाश तर्फ टोलाइरहेको थियो त्यतिकै मा उसको आखाँ उडिरहेको जहाज तर्फ गयो कहिले सानो सपना नदेख्ने कमले त्यसै बखत जहाज किन्ने सपना देख्यो कमलेको यो अर्को असाधारण सपना थियो तर केहि सम्भावना पनि थिए
            कमले झुपडीमा हुदा पनि आफ्नो जन्मदिन मनाउने गर्दथ्यो अहिले नमनाउने कुरा भएन यो पाली भने कमले आफ्नो जन्म दिनमा निकै भब्य पार्टीको आयोजना गरेको थियो त्यसै पार्टीमा उसले आफु जहाज किन्ने चाहना व्यक्त गर्यो उसका सहयोगी आसेपासे हरु कमलेको कुरा सुनेर दंग थिए त्यसै बेला ह्यांगरमा राखिएको चल्न बन्द भएको बोइंग लिलामीको समाचार आएको थियो एकजना सहयोगीले सो जहाजका बारेमा कमले लाई सुनायो  केहि पाटपुर्जा फेरेर संचालन गर्न सकिने सो जहाजको कवाडीको मुल्यमा बिक्दैछ भन्ने सुने पछि कमले हौसियो
           कमले आफ्नो सम्पतिको मुल्यांकन गर्न थाल्यो जोड घटाउ गर्दै जादा जहाज किन्नका निम्ति चाहिने आधा पैसा जम्मा हुने देखियो आधा पैसा बैंकबाट ऋण लिने सोच बनायो जहाज किन्ने प्रक्रियामा जादै गर्दा पुरानो जहाजका निम्ति कुनै बैंकहरु जोखिम मोल्न चाहेनन् यसै बिचमा उ जस्तै पृष्टभूमि बाट आएका एकजना संकी जहाज किन्ने सपनामा दौडिएको मान्छे उसले भेट्यो लामो छलफल र सम्झौता पश्चात उनीहरु ले संयुक्त लगानी मा जहाज किन्ने निर्णय गरे र अन्तत उनीहरु जहाजको मालिक बने
           जहाज कमले भन्दा निकै जेठो थियो जहाज पाटपुर्जा जोगाड गरेर जसोतसो चल्ने बन्यो पुरानो जहाज पुराना पाइलटलाई जिम्मा लगाउन कमले र उसको संकी पार्टनर चाहदैन थे त्यसैले अनुभवी पाइलटको खोजि हुन थाल्यो पत्रपत्रिका देखि इन्टरनेट मार्फत जहाज उडाउने मान्छेको खोजि भयो तर ईच्छुक कोहि भेटिएनन अन्तत जहाज कमले र उसको संकी पार्टनरले आफै जहाज उडाउने निधो गरे
           जमिनमा गुड्ने सबै प्रकारका मोटरहरु चलाउने अनुभव दुवै संग थियो उनीहरु को निम्ति जहाजमा उड्ने बाहेक उडाउने कुरा कल्पना बाहिरको कुरा थियो तर पनि अहिलेको युगमा मान्छे मा ईच्छाशक्ति भए के कुरा असम्भव छ र उनीहरु पाइलट बन्नको निम्ति विदेश जाने योजना बनाए पुराना क्याम्पसका सर्टिफिकेट समाएर उनिहरु पाइलट बन्नका निम्ति विदेश तिर हुइकिए पाइलट बन्न धेरै बर्ष लाग्ने थियो आफुहरुले किनेको जहाज त्यसै थन्किएको अवस्थामा थियो केहि समयको तालिम ले उनीहरु जहाज उडाउन सक्ने मात्र भएका थिए त्यसैले उनीहरु पाइलटको सर्टिफिकेट कुर्ने झन्झट गरेनन उनीहरु लाई आफ्नो देशमा उडान अनुमति लिन कुनै आइतबार थिएन जालझेल गरेर विदेशमा लामो समय जहाज उडाएको झुटा सर्टिफिकेट लिएर आफ्नो देश फर्किए अन्तत आफ्नो देशमा पनि उनीहरुले उडान अनुमति पाए
             जहाजको पहिलो उडान गर्ने दिन आसेपासे, सहयोगी देखि वरिष्ठ व्यक्तिहरु  लाई निमन्त्रणा थियो जहाँ एउटा भव्य कार्यक्रमको आयोजना गरिएको थियो
             कर्मको खेल! आज कमले र उसको पार्टनर देखेर सारा नेपाल दंग छ उ बेला यी खलासीहरुले एकदिन बोइंग उडाउने छन् भनेर कसले अनुमान लागाउने कमलेका सुभचिन्तकहरु को कामना थियो जहाजले सफल उडान भरोस अनि जहाजले सफल अवतरण गरोस सुभचिन्तकहरु को अर्को पनि कामना थियो जहाज उडाउने क्रममा उनीहरु ले फेरी अर्को असाधारण सपना नदेखुन चन्द्रमा पुग्ने

- मोहम्मद वाहिद अलि


No comments: