Tuesday, March 27, 2018

अविस्मरणीय हवाई दुर्घटना र यथार्थता



(मेरो लेख २०७४ चैत १२ मा नयाँ विकल्प साप्ताहिक पत्रिका तथा  www.nayabikalpa.com मा प्रकाशित)       
     
        आज केहि बेर भएको थियो फेसबुक नहेरेको
। युएस बंगला एअरलाइन्सको जहाज ल्यान्डिङ गर्ने क्रममा त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थलमा दुर्घटना भएको खबरले न्युजफिड भरिएको रहेछ। केहि महिना यता सिरियामा भएको नरसंहारका दर्दनाक फोटो भिडियोहरु ले मन मंस्तिस्कामा नराम्रो छाप छोडेको बेला फेरी अर्को दुखद समाचार आयो।  वास्तबमा दुखद समाचार सुन्न हेर्न र बुझ्न मनै छैन। मन भित्र बाट दुर्घटनामा मृत्यु हुने र घाइतेहरु का निम्ति प्रार्थना गरे। त्यसपछि राति सम्म फेसबुक र अन्य कुनै पनि समाचार हरु हेरिन। बेलुकाको खाना खाने समय भयो। आमाले घर देखि पठाउनु भएको अचार प्लेटमा हाल्दै गर्दा झसंग झस्किए। म विदेशमा छु। म नेपाल फर्किनु छ। त्यहि बिमान स्थल हुदै। राति अबेर सम्म निद्रा लागेन।


                    हवाई यात्रा सबै भन्दा सुरक्षित यात्रा हो। हवाई दुर्घटनाको तथ्यांक ले पनि त्यहि कुराको पुस्टि गर्दछ। सायद त्यहि कारणले होला मलाई ठुलो जहाजको यात्रा निकै सहज लाग्ने गर्दछ। २००६ को अन्त्य तिर पहिलो पल्ट ठुलो जहाज नजिक बाट देख्ने अनि यात्रा गर्ने अवसर मिलेको थियो। बच्चा अवस्थामा सौराहमा अजंघको हात्ती देख्दा जस्तो अनुभव थियो। यति ठुलो जनावर यति ठुलो इन्जिन वाला जहाज । मन भित्र एकै किसिमको कौतुहलता थियो।
               म संग ठुला जहाजको यात्रा ट्रान्जिट सहित १५/१६ पटकको अनुभव रहेको छ। प्रतेक पटक केहि न केहि अनौठा अनुभवहरु गरिरहेको हुन्छु। संगै सिटको साथिले सिट बेल्ट लगाउन र खोल्न सहयोग मागेको देखि ट्वाइलेटको फ्ल्यासको ठुलो आवाजले म आफै झस्किएको जस्ता रमाइला घटनाहरु को अनुभव प्रसस्त छन्। जहाजको एअरफोन चट पार्ने देखि जहाज उडेर अवतरण नगर्दा सम्म भगवानको नाम जप्ने अथवा डराएर सुत्ने हरु धेरै देखेको छु। थपी थपी जुस कफी वाइन रक्सि पिउन दिने देखि लिएर २०० एमएल पानि बाहेक अरु केहि नदिने एअरलाइन्स चढेको छु । यसरि यात्राको क्रममा धेरै पटक मृत्युको मुखमा छु भन्ने भयको अनुभव धेरै पटक गरेको छु।
           केहि बर्ष पहिलेको कुरा हो म पहिलो पल्ट छुट्टि मनाउन घर फर्किदै थिए। मन प्रफुलित थियो। प्रफुलित हुनुको अर्को कारण मेरो सिट झ्याल निर थियो । जहाज उड्यो । समुन्द्र संगै जोडिएको एअरपोर्ट भएकाले म तल समुन्द्रका जहाज हेर्दै थिए। जहाज उडेको केहि मिनेट मात्र भएको थियो। जहाज मज्जाले ढल्किदै यु टर्न गर्यो। जहाज पुन एअरपोर्ट तर्फ मोडियो। जहाजमा समस्या आयो भन्ने सोझै अनुमान लगाउन सकिन्थ्यो। आखाँ बन्द गरे। सम्झिन पर्ने सबै लाई सम्झिदै प्रर्थना गरे। त्यतिकै मा उचाई नाप्न मन लाग्यो। झ्याल देखि तल हेरे। तल गाडी गुडिरहेको प्रस्ट देखिरहेको थियो।  म बस्ने अनि काम गर्ने ठाउँ अगाडीको अग्लो ५ स्टार होटेलको बिल्डिंग देखे। अरु ध्यान दिएर हेर्दा मेरो अफिस अनि अगाडिको गार्डेन प्रस्ट देखियो। मन भित्र अनेकौ कुरा हरु खेल्न थाले। यतिकैमा जहाज माथि उक्लिन थाल्यो। म चाहिने भन्दा बेसी सोचिरहेको छु भन्ने आभास भयो। केहि बेरमा सिट बेल्ट खोल्नुहोस भन्ने आवाज आयो। त्यस पछि निकै आरामदायी यात्रा भयो। हामी गन्तब्यमा पुग्यौ।
            केहि बर्ष पहिले गल्फ एअरको जहाजमा घर फर्किदै थिए। ट्रान्जिटका निम्ति हामि बहराइनमा रोकियौ। अन्य अरब देशका तामझाम वाला विमानस्थल भन्दा भिन्न थियो। कोहि पेट वाला त कोहि शरीरमा ड्रेस न अडिने पुलिस अनि उस्तै एअरपोर्ट। म वेटिंग रुम मा बसिरहेको थिए। अचानक मेरो आखाँ बाहिर रोकिएको  जहाज तर्फ गयो। त्यहाँ केहि कामदार जहाजको बडी टाल्दै थिए। केहि बेरमा त्यहि जहाजमा हामी चढ्यौ। नेसनल जोग्राफिक टेलिभिजनमा Air Crash Investigation Series को पात्र म हु जस्तो लाग्यो। बडी टालटुल गर्ने वल्डिंगको आगोको झिल्कोले काठमाण्डौ ल्याण्ड नहुदा सम्म आखाँमा बिझाइ रह्यो।  
             अघिल्लो छुट्टिमा म नेपाल फर्किदै थिए। नेपालमा बर्खाको सिजन थियो। । सिट अगाडीको स्क्रिनमा हामी  नेपाल भित्र प्रवेश गर्यो भनेर म्याप मा देखाइरहेको थियो। झ्याल बाट बाहिर आखाँ लगे । हाम्रो जहाज कालो बादलको सागरमा पानि जहाज जस्तै हिडिरहेको थियो। अब काठमाण्डौ केहि बेरको दुरीमा थियो। ठुला ठुला पानीका मुस्ला बादलका बीचमा देखिदै थिए। जमिन बाट आकाशमा बिजुली चम्किएको भन्दा निकै उचाई हो भन्ने लाग्थ्यो। आज त्यहि बिजुली चम्किने कालो बादलको बीच बाट हामी गुज्रिरहेका थियौ। जुन निकै भयाबह दृश्य थियो। केहि बेरमा तल डाँडाकाडाहरु देखिन थाले। हरिया डाँडाहरु पहिरोले चिथोरे जस्तो देखिएको थियो। खोलानालाहरु धमिला थिए। बाढीले होला। त्यतिकैमा अचानक जहाज पुन बादलको ठुलो मुस्लो भित्र पस्यो। पखेटाका इन्जिनहरु बाट आउने आवाज फेरियो। डरले होला जहाज त्यहि होल्ड गरेर बसे जस्तो लाग्यो। जहाज भित्र सन्नाटा छाएको थियो। फेरी जहाजले एउटा जोरदार गति लियो। त्यतिकैमा भिजेको काठमाण्डौ देखिन थाल्यो। बाच्ने आधार मिले जस्तो भयो। आरामले जहाज ल्याण्ड भयो। म जस्तै डरपकहरु जहाजमा रहेछन। तालि बजाउदै सिठी मार्न थाले। 
            अहिले अन्तिम पटक हिमालयन एअरलाइन्स बाट कर्मभूमि फर्किदै थिए।  आफ्नो देशको जहाजमा पहिलो पटक विदेशको यात्रा गर्दै थिए। पोखरा देखि आएको बुद्ध एअरलाइन्सको जहाजको तुलनामा अलिकति मात्र ठुलो थियो। नयाँ नयाँ भएर होला एअर होस्टेज हरुको जागर हेर्न लाएक थियो। घर छोडेर विदेश लाग्नु को पिढा र झ्याल तिरको साइड अर्कै को कब्जामा हुनु। यो पटक म दोब्बर दुखि थिए। जहाज उड्यो। जहाज कोल्टीदा आखाँ तन्काउदै पल्लो पट्टिको झ्याल बाट काठमान्डौ लाई हेरे। चकमन्न अध्यारो थियो काठमाण्डौ। सडकका केहि लाइट हरु मात्र देखिन्थे।  जहाज उकालो लाग्न निकै अफ्ट्यारो मानिरहेको जस्तो भान भयो। जहाज ढल्के ढल्के अवस्थामा थियो। मेरो आखा उतै तन्किरहेका थियो। त्यतिकै मा सडकको एउटा लाइट तिर ध्यान गयो। कमसेकम १ मिनेट सम्म त्यो लाइट बराबर साइजको देखे पछि मेरो होस् उड्यो। वरिपरी सबै प्यासिन्जर को मुहार हेरे सबै को मलिन थियो। उनीहरु घर छोडेर विदेश हिडेको हुन् भन्ने मलाई हेक्का भएन। बल्ल तल ‘आ गई रेल पटरि पे’ भने जस्तै जहाजले आफ्नो उचाई बाट सिधा अगाडी बढ्न थाल्यो। सबै प्यासिन्जरले बोझ वाला बेल्ट फुकाउन थाले। यतिकैमा एअर होस्टेज हरु हतारिदै बेल्ट नखोल्नु भन्न थाले। बेल्ट नै लगाएर हामीले डिनर गर्यौ। गन्तब्यमा नपुग्दा सम्म जहाज हल्ली रह्यो। एकपटक पनि  सिट बेल्ट खोल्नु होस् भन्ने आवाज आएन। जुन मेरो पहिलो अनुभव थियो। तथापी सकुसल हामि ल्याण्ड भयौ। मैले जहाजमा भोगेका घटना जसलाई सुनाउने गर्दथे। म माथि डरपकको अर्को बिल्ला थपिन्थ्यो। तर यो घटना धेरै संग मेल खायो।
              हवाई दुर्घटनामा दोस्रो अवसर हुदैन भनिन्छ। तथापी ठुलो जहाज हरु को दुर्घटना को इतिहास हेर्ने हो भने वास्तवमा निकै सुरक्षित यात्रा हो। आकास भरि हजारौ जहाज हरु उडिरहेका हुन्छन। बिश्व भरिमा बर्षेनी केहि यस्ता दुर्घटना हुनु लाई गम्भीरतापूर्वक लिनु हुदैन। यसो भन्दै गर्दा नेपालमा ठिक उल्टो भैरहेको छ। हामी संग  जहाज दुर्घटनाको कहाली लाग्दो इतिहास छ। साना डोमेस्टिक जहाजहरु को दुर्घटना बर्षेनी भैरहन्छन। नेपालका आकाश असुरक्षित हुनुका धेरै कारणहरु होलान। तथापी यस्ता घटनाले आन्तरिक तथा बाह्य पर्यटकलाई नराम्रो असर गर्ने गर्दछ। त्यस्तै दुर्घटना पछि पाइलट एअरहोस्टेज अनि प्यासिन्जर सम्बन्धि मन विक्षिप्त बनाउने स्टोरी हरुले हप्तौ सम्म पत्रपत्रिका अनलाइन हरुमा कब्जा जमाएको हुन्छन। जसले गर्दा डोमेस्टिक फ्लाइट प्रति मन मस्तिस्कमा थप नराम्रो प्रभाव परिरहेको छ।
           ठुला जहाजहरु पनि हाम्रो आकाशमा असुरक्षित छन् भन्ने कुराको पुस्टि हिजोको घटनाले गरेको छ। जसले मनमा नराम्रो चोट दिएको छ। बाध्यात्मक रुपमा जहाज चढ्नुपर्ने धेरैको मन भित्र भयको स्थिति छ। यो  भय लाई जसरि पनि जित्नु छ। किन कि हामीलाई आफ्नो देश फर्किनु छ। तर जति पनि सौखले नेपाल भ्रमण गर्ने सोचमा छन् उनिहरु लाई यो खबरले पक्कै पनि असर गर्ने छ।
        सामान्य अर्थमा मृत्यु निकै दुखदायी हुन्छ। सामान्य मृत्यु, सडक दुर्घटना हवाई दुर्घटना अथवा कुनै पनि दुर्घटनामा मृत्यु सबै घाउ समान हुन्छ । सबै मृत्यु हुने हरुको स्टोरी हृदयबिदारक हुने गर्छ। त्यसैले दुर्घटना संबन्धित स्टोरीहरु लाई कम भन्दा कम कभरेज गरिदिए बेस हुने थियो होला।        
मृतकका परिवार आफन्त प्रियजनहरु प्रति हार्दिक समबेदना प्रकट गर्न चाहन्छु।



मोहम्मद वाहिद अलि

No comments: