Monday, February 12, 2018

मुस्लिम समुदाय, राज्यको विभेद र यसको न्यूनीकरण


 ( नेपाली मुस्लिम डट कम मा २२ चैत्र २०७४, बिहीबार प्रकाशित मेरो लेख ) 
                    नेपालको इतिहास फर्केर हेर्दा तत्कालिन शासक हरुले सर्वसाधारण जनताले पढ्नु हुदैन भन्ने सोच राख्दथे। राजा अथवा राणाहरु यस विषयमा खासै जनता प्रति उद्दार नदेखिनु का विविध कारण हरु होलान। प्रमुख कारण भनेको जनता शिक्षित भए जनता माथि शासन गर्न पाउदैनौ भन्ने हो। एक पछि अर्को गरि शासक हरु लोप हुदै गए । देशमा प्रजातन्त्र आयो।  प्रजातन्त्र आए पछि पनि शिक्षा सर्वसाधारण को पहुच भन्दा बाहिर थियो । राज्यमा विभेद को शृंखला रोकिएको थिएन। त्यहि विभेदका कारण यो समुदाय पढ्ने र त्यो समुदाय नपढ्ने भनेर विल्ला थमाउने काम भयो। हामि मुस्लिम समुदाय नपढ्ने समुदायमा पर्यौ ।

             सोसियल इन्क्लुजन एटलस् अफ नेपाल: इथ्निक एण्ड कास्ट ग्रुप्स’ २०१४ को तथ्यांक हेर्ने हो भने धर्मको आधारमा हिन्दु र बौद्ध धर्म पछि को तेस्रो स्थानमा ईस्लाम धर्म छ। मुस्लिम समुदायको जनसंख्या जातीय आधारमा गुरुङ, यादब र ठकुरी लगाएतका जातिहरु भन्दा धेरै छ। त्यसैले हाम्रो समुदाय देशको एउटा महत्व अंग हो। हामी परापूर्वकालदेखि आफु र आफ्नो समुदायको अस्तित्व जोगाइ आएका छौ। त्यसका निम्ति कुनै शक्ति रुपमा उदाउने प्रयत्न गरेनौ। सधै असल नागरिकका रुपमा प्रस्तुत भई रहयौ। देशमा आएका हरेक परिवर्तन लाई आत्मसाथ गर्दै आयौ। देशमा धेरै व्यवस्था फेरिए तर राज्य हाम्रो समुदाय प्रति हेर्ने दृष्टिकोण फेरिएन।
           पछिल्लो पटक ६२/६३ को जनआन्दोलन संगै देशमा गणतन्त्र आयो। नयाँ संविधान लेखन को निम्ति संविधानसभाको सभाको गठन भयो। नयाँ संविधानमा हाम्रो समुदाय माथि पूर्ण न्याय हुने अर्थात् हाम्रा हक अधिकार संविधानमा लेखिनेछ भन्ने कुरामा आशावादी थियौ। यसै सन्दर्भमा संविधानमा आफ्ना माग हरु नछुटुन् भन्ने उदेश्यका साथ् विभिन्न किसिमका दवाब दिने काम भयो। जुन दवावलाई उपलब्धि मुलक बनाउन राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन सहयोगी भयो। जसको ठुलो उपलब्धि देश धर्मनिरिपेक्ष राष्ट्र भयो। त्यस्तै हाम्रो समुदायका धेरै मागहरु सम्बोधन भए र संविधानमा लेखिए।
           संविधान भनेको एउटा दस्ताबेज हो। त्यसमा लेखिएका कुराहरु अक्षरस पालना हुन्छ भन्ने अवस्था हुदैन। त्यो सरकार र त्यस संग जोडिएका अंगहरु को नियतमा भर पर्ने हुन्छ। अथवा सरकारमा रहने हरुलाई आफ्नो शक्ति र अस्थित्व पहिचान गराउन सक्नु पर्दछ। २००७ साल पछि देशका महत्वपूर्ण अंग केवल एउटा समुदायको बर्चस्व रहदै आयो। जसले गर्दा हामी जस्तै केहि समुदाय हरु सधै अधिकार प्राप्ति का निम्ति ति वर्चश्ववाला हरु संग हात फैलाइरहनु पर्ने बाध्य भयौ । अब नयाँ संबिधान जारि भए संगै यो अवस्थाको समाप्ति हुन्छ भन्ने आशा लिएका थियौ। तर संविधान कार्यन्वयन गर्ने सुरुवाती अवस्था हाम्रो समुदाय ससंकित हुनु परेको छ। ज्वलन्त उदाहरण राष्ट्रिय सभामा मुस्लिम समुदायको उपस्थिति नगराइनु लाई लिन सकिन्छ। जसले देशका प्रमुख दलहरु नै संबिधानको मूलमर्म लाई विर्सिएको भान हामि लाई लागेको छ। नयाँ संबिधान जारि भए पछि पनि आफ्ना अधिकार र न्यायका निमित्त आन्दोलन को सहारा लिनु पर्ने बाध्यता भयो भने संविधान आफै अपुरो ठहरिने छ। तर अहिलेको परिदृश्यले त्यहि कुराको संकेत गर्दै छ। संविधान कार्यन्वयन गर्ने सुरुवाती अवस्था यस्तो किसिमको विभेद हुनु पक्कै पनि शुभ संकेत होइन।
            ‘जुन जोगी आए पनि कान चिरेको’ भन्ने उखान अहिले समय सान्दर्भिक छ। यसरि राज्यले हाम्रो समुदाय प्रति गर्दै आएको नजर अन्दाजका विषयमा गम्भीर छलफल गर्न जरुरि छ। राज्यले विभेद गर्नुमा हाम्रा पनि केहि  कमी कमजोरी हरु छन। यसै सन्दर्भमा केहि बुदाहरु प्रस्तुत गर्न चाहन्छु।
१- समुदायको नेतृत्व गर्ने नेताको कमि – हामि बीच केवल पार्टीको वकालत गर्ने नेता छन्। पार्टी भित्र मुस्लिम समुदाय एउटा शक्ति हो भन्ने प्रभाव पार्न सकिरहेको देखिदैन। त्यसैले पार्टी र पार्टीको सिद्दान्त भन्दा माथि उठ्न नसक्ने नेता हाम्रो समुदायको नेता हुन सक्दैन। अहिलेको परिवेशमा विशुद्द समुदायको प्रतिनिधित्व गर्ने नेताको जरुरि छ।  जसको नेतृत्वले राज्य संग हाम्रा अधिकार प्राप्तिका सन्दर्भमा दवाव सिर्जना गर्न सक्ने हैसियत राख्दछ।  
२- भौगोलिकता आधारमा मतान्तर - मुस्लिम समुदाय भित्र पनि तिन किसिमको समुदाय छन् मधेशी, पहाडी र उपत्यका वासी । नेपाली मुस्लिमको महत्वपूर्ण हिस्सा तराईमा छ। जनसंख्याको आधारमा राजनीतिक शक्तिका रुपमा अगाडी बढ्न सक्ने प्रवल सम्भावना छ। जहाँ प्राय नेताहरु समुदाय भन्दा पनि पार्टीगत राजनीतिमा लागेको देखिन्छ। नेपाली मुस्लिमको अर्को महत्वपूर्ण हिस्सा भनेको पहाडमा छ। जनसंख्याको आधारमा राजनीतिक शक्तिका रुपमा हैसियत राख्दैन। तथापी समुदायको हक हितका निमित्त राजनीतिमा होमिएका केहि नेताहरु छन। त्यस्तै उपत्यकामा सदियौ देखि व्यापार व्यवसाय देखि हरेक क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल मुस्लिम समुदायको एउटा ठुलो हिस्सा रहेको छ। आर्थिक र शैक्षिक रुपमा सवल उपत्यकावासी राजनीति, सामाजिक र अन्य क्षेत्रमा सजिलै आफ्नो हैसियत बनाउन सामर्थ्य राख्दछन। तथापी मुस्लिम अधिकार लगायतका मुद्दा प्रति खासै  चासो देखाएको पाइदैन। मधेशी, पहाडी र उपत्यकावासी बीच समुदायको अधिकार र पहिचानका सवालमा आपसी समन्वय हुन नसक्नु दुखद कुरा हो।
३-  अशिक्षा बेरोजगार र गरिवी – इतिहास पल्टाउने हो भने हाम्रो पुर्खाहरु व्यापारी थिए। हाम्रो त्यो पहिचान गुमिसकेको छ । जसमा राज्यले गरेको विभेद संगै अन्य विविध कारणहरु छन्। यस्तो भनिरहदा हाम्रो जस्तै चुनौती हरु लाई सामना गर्दै आफ्नो पहिचान कायम गर्न सफल केहि अन्य समुदायहरु छन। उनिहरु बाट पाठ सिक्न जरुरि छ। आफु लाई उधमी र व्यवसायी बनाउने र आफ्ना सन्तति लाई उचित शिक्षा दिने वातावरण हामी बीच हुनु पर्दछ।
४- राजनीतिक चेतनाको कमि- एउटा असल नागरिक जसले देशको राजनीति बुझेको हुनु पर्दछ। हाम्रो समुदायमा राजनीतिक चेतना भएका व्यक्ति लाई नेताको रुपमा चित्रण गरिन्छ। नेता प्रति जनसमुदायमा  गलत धारणा छ। राजनीति लाई आधार बनाएर एउटा वर्ग लगातार आफुलाई केन्द्रमा राखेको उदाहरण हामि संग छ। त्यसैले समुदायको विकासका निम्ति राजनीति महत्वपूर्ण मानिन्छ। हाम्रो समुदायमा राजनीतिमा लाग्नु भनेको फलाम को चिउरा चपाउनु जस्तो हो। जसले पहिले आफ्नै समुदाय संग धेरै चुनौतीको सामना गर्नु पर्दछ। राजनीतिक चेतना बढाउनु र राजनीतिमा लागेकाहरु को जायज कुरामा समर्थन गर्नु आज को आवश्यकता हो।
५- संचार क्षेत्रमा पहुच नहुनु – हाम्रो धर्म असल रिति र संस्कार सिकाउने धर्म हो। तथापी एउटा व्यक्तिले गरेका गलत कार्यलाई धर्म र समुदायको नाम जोडेर समाजमा गलत भ्रम छरिने गर्दछ । जसको प्रमुख कारण संचार क्षेत्रमा पहुच नहुनु हो। हामीले गरेका राम्रा कार्यहरु लाई सबैका सामु ल्याउन संचार माध्यम को ठुलो भूमिका हुन्छ।  आफ्नो समुदायको बारे देश भित्र संचार बढाउन आजको आवश्यकता हो ।
६ – भाषा परम्परा र संस्कृति – संसारमा कसैको पहिचान भनेको उसको मौलिक भाषा परम्परा र संस्कृति हो। सके सम्म आयातित संस्कृति बाट बच्नु पर्दछ। जुन हाम्रो प्रमुख समस्या हो। हाम्रा आफ्नै भाषा छन् जुन  लोप हुने अवस्थामा छन। हाम्रो रितिरिवाज चाडपर्व विवाह र पहिरनमा मौलिकता छैन। यस्ता कार्यमा अन्य जातिको नक्कल गर्ने अथवा भारत पाकिस्तान र अरब मुलुकका रिति रिवाज लाई बढी महत्व दिनुले पनि हाम्रो पहिचान मा असर गरेको छ। त्यसैले हाम्रो मौलिकता को खोजि हुन् जरुरि छ।
७ - दाइजो प्रथा, महिला माथि विभेद, तलाक (सम्बन्ध विच्छेद) -  यी सबै समस्या नेपालको प्रमुख समस्या हरु हुन् तथापी यी समस्या लाई हाम्रो समुदाय प्रति लक्षित गरि आरोप लगाउने काम हुने गर्दछ। यसो भन्दै गर्दा केहि समस्या हाम्रो समुदाय बीचमा रही आएको छ। आफ्नो हैसियत भन्दा धेरै स्वइच्छा ले होस् अथवा दवावमा दाइजो दिने लिने प्रचलनको अन्त्य गर्नु जरुरि छ।  दाईजो प्रथा लाई प्रोत्साहन दिनु भन्दा छोरा छोरि लाई उच्च शिक्षा दिनु तर्फ ध्यान दिनु आजको आवश्यकता हो । महिला माथि विभेद एउटा समुदायको समस्या होइन। सति प्रथाको अन्त्य त भयो तर अझै पनि हामि बीच छाउपडी प्रथा ठुलो समस्याको रुपमा छ। तर केवल एउटा समुदाय बीच घट्ने सामान्य घटनाहरु लाई नियोजित रुपमा ठुलो चर्चा बनाइने गर्दछ। जसमाथि हामि सचेत हुनु जरुरि छ। हाम्रो धर्मले नारी पुरुष बीच समान व्यवहार हुनुपर्छ भनेको छ। जुन कुरा लाई हामीले चरितार्थ समाजमा उदाहरण दिन सक्नु पर्दछ। सम्बन्ध विच्छेद संसारमा सबै भन्दा धेरै पश्चिमा मुलुकमा हुने गर्दछ। त्यस्तै हाम्रो देश भित्र पनि सबै जातजातिमा हुने गर्दछ। तथापी तलाक शब्दले समाजमा धेरै प्रभाव पारेको छ। तलाक भनेको सम्बन्ध विच्छेद को एउटा विधि मात्र हो। यस भित्र धेरै मर्म र विधिहरु छन। जसको मर्म र विधिहरु लाई अनुसरण गर्नु आजको आवश्यकता हो।    
८  – मदर्शा तथा मदर्शा शिक्षाका निम्ति परनिर्भरता- हाम्रो समुदायको महत्वपूर्ण इस्लामिक ज्ञान हासिल गर्नका निम्ति मदर्शा शिक्षा अनिवार्य छ। हाम्रो देशमा इस्लामिक विश्वविद्यालय छैन। त्यसैले शिक्षक देखि किताब र किताब को भाषा सम्मको लागि अन्य देशहरु संग निर्भर छौ। जसले गर्दा हाम्रा मदर्शा माथि सधै सरकारको सुरक्षा निगरानी हुने गर्दछ।  देशका मदर्शा हरुका निम्ति चाहिने शिक्षकहरु उत्पादन गर्न सक्ने विश्वविद्यालय तथा  मदर्शा शिक्षा लाई देशको शिक्षाको मूल धारमा ल्याउनु आज को आवश्यकता हो। जसका निम्ति हामीले राज्यलाई दवाव सिर्जना गर्नु पर्ने छ।
९ – वैदेशिक रोजगारी – यो समस्या हाम्रो देशको प्रमुख समस्या हो । यसबाट मुस्लिम समुदाय अछुतो रहन सकेको छैन। १६ बर्ष पुरा गरे पछि छोरा लाई विदेश पठाउने बाध्यात्मक सपना धेरै अभिभावकमा हुने गर्दछ। यसका न्यूनीकरण गर्ने तर्फ ध्यान दिनु पर्दछ। समयमै छोराछोरी प्रति उत्तरदायी भई आर्थिक रुपमा सबल हुने र  छोराछोरी लाई उच्च शिक्षा दिने वातावरण सिर्जना गर्नु आजको आवश्यकता हो।
१० – असल नागरिक बन्ने – हामी सदियौं देखि देशका असल नागरिक हौ। देश प्रति सधै बफादार छौ। देशप्रति हाम्रा धेरै दायीत्व हरु छन्। जसको निम्ति हामी सधै तत्पर रहनु पर्दछ। केहि समुदायहरु आफुलाई देशका पहेरेदार हौ भन्ने गर्दछन। हरेक परिस्थितिमा हाम्रो समुदाय देशका निम्ति अन्य समुदाय संग संगै उभिएको छ। त्यसैले  हामी पनि देशका पहेरेदार हौ भन्ने परिचय बनाउन आज को आवश्यकता हो।

         नेपालको मानव विकास सूचकांक अनुसार हामि दलित समुदाय भन्दा तल छौ। माथि उल्लेख गरिएका बुदाहरु ले हाम्रो समुदायको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन सफल हुने छ। फलस्वरूप राज्यले हामिलाई एउटा शक्तिका रुपमा देख्ने छन्। साथै राज्यले नागरिकका हकमा गर्नु पर्ने दाइत्वमा सदैव सजग हुने छ। हाम्रो मुलुकमा व्यक्तिगत जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन कुनै बाधा अड्चन छैन। व्यक्तिहरु आफु सक्षम भए भने समुदाय आफै सक्षम हुने छ। जसको उदाहरण केहि समय पहिले र अहिले समाजमा हाम्रो समुदाय प्रति गरिने व्यवहार लाई लिन सकिन्छ। हामी आफ्नै पौरखले आफ्नो जीवनस्तरमा परिवर्तन ल्याएका हौ। यदि राज्यले विभेद अन्त्य गरेको अवस्थामा पनि राज्यले नै सबै कुरा गरिदिने होइन। यो सोच बाट माथि उठ्ने अवस्था आएको छ। अन्यथा फेरी पनि हामी ढिला हुने छौ ।

मोहम्मद वाहिद अलि




No comments: