Thursday, July 28, 2016

चुच्चे रेल

              


      
   झिसमिसे अध्यारो मै क्याम्प जागेको छ l  धुलाम्य रुखमा चराचुरुंगी हरु को चिरबिर अनि मान्छे हरुको गाइगुइ ले क्याम्प कोलाहल छ l निला ड्यान्ग्री सेफ्टी जुत्ता अनि एउटा हातमा टिफिन र अर्को मा हेल्मेट बोकेका योद्धा हरु यो देश र आफ्नो भविष्य बनाउने युद्दमा जानका निम्ति तयार हुन्छन l  नेपालमा जस्तै टाटा बसको हर्न बज्छ l एकछिन लाई सबैमा बालापन छाउछ l हतारिदै सिट रोक्न दौडिन्छन  l धुलो उड्छ l नाक छोप्दै बसमा उक्लिन्छ श्यामसुन्दर l ढुक्क थियो सधैको जस्तो रामेले सिट रोकेको छ भनेर l आज रामे संग अरु कोहि बसिसकेको देखेर श्यामसुन्दर एकछिन अल्मलिन्छ l उसका आखाँले भरिएका सिट हरुमा खालि ठाउँ खोज्छ l इजिप्टसियन फोरमेन क्याप्टेन जस्तै रुखो कडा उस्ले आफुले बुझ्ने भाषामा उसको नाम साम राखिदिएको छ l त्यसैले सबै साथीहरु श्यामसुन्दर लाई साम भनेर नै चिन्ने गर्दछन l पछाडी सिट बाट बंगाली साथीले साम भनेर बोलाउदै खालि सिट तिर इसारा गर्छ l  साम बंगाली को छेउमा गएर बस्छ l